वलय सूर्यग्रहण र यसको प्रभाव

टेकराज पन्थी
संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ। खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ। सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो। ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमा तिथिमा लाग्दछ।

खण्डग्रास र खग्रास गरी दुई प्रकारको ग्रहण हुन्छ । सूर्य वा चन्द्रमाको पुरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ र कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पुरै भाग छायाँमा पर्नुलाई खग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ ।

२०७७ साल असार ७ गते आइतबार अमावश्य तिथिका दिन अहिलेसम्मकै सबैभन्दा लामो सुर्य ग्रहण लाग्दैछ । खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण भएको छ । बिहान १० बजेर ५० मिनटमा स्पर्श, १२ बजेर ३८ मिनटमा मध्य, अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष र सर्वपर्व ३ घण्टा ३३ मिनेटको हुनेछ । २०७७ साल असार ६ गते शनिवार रात्री १० बजेर ५० मिनट देखि सूर्यग्रहणको सुतक लाग्ने छ । सो समयमा बाल, बृद्ध, बिरामी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। सूर्यका परावैजनिक किरण, विकिरण लगायतबाट असर गर्न सक्ने धार्मिक तथा वैज्ञानिकहरूको भनाइ रहेकोछ ।

खण्डग्रास सुर्यग्रहण दुई नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ । मृगशिरा र आरार्ध्या नक्षेत्र तथा मिथुन राशिका ब्यक्तिहरूलाई अतिकष्ट हुन सक्ने ज्योतिषशास्त्रमा उल्लेख भएको पाईन्छ । ग्रहणकाल बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ । मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने एवं मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पार्दैन तर ग्रहण हेर्न भने मिल्दैन ।

यो सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ । यो पुरै सूर्य ढाक्ने सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास आधा ढाक्ने मात्र देख्न सकिने छ । वैज्ञानिक र ज्योतिषशास्त्रका अनुसार ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिनेछ ।

ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसोको अनुभव हुनेछ । ग्रहणका दिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महशुस हुनेछ । यसरी वैज्ञानिक र धार्मिक आधारहरू धेरै रहेका छन् । ग्रहण लागेको समयमा बर्जित गरेका कार्यलाई हेलचक्राई र खेलाची नगरी पालना गर्दा राम्रो हुने विश्वास गर्न सकिन्छ । धर्मशास्त्र अनुसार सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशि भएका मानिसले मात्र हेर्न हुने धार्मिक मान्यता छ। ज्योतिषशास्त्रका अनुसार मेष राशिलाई ३श्रीप्राप्ती, वृष राशिलाई २क्षति, मिथुन राशिलाई १घात, कर्कट राशिलाई १२ब्यय, सिंह राशिलाई ११लाभ, कन्या राशिलाई १०सुखम्, तुला राशिलाई ९माननास, वृश्चिक राशिलाई ८कष्टम्, धनु राशिलाई ७स्त्रीपीडा, मकर राशिलाई ६सोख्यम्, कुम्भ राशिलाई ५चिन्ता, मिन राशिलाई ४व्यथा भन्ने पंञ्चाङ्गमा उल्लेख गरिएको छ । यसमा उल्लेख गरिएको अंक सूर्यग्रहणको प्रभावको प्राथमिकीकरण हो । त्यसैले यस सूर्यग्रहणलाई महत्वपूर्णरूपमा हेरिन्छ । सूर्यग्रहणका धेरै वैज्ञानिक कारण, धार्मिक कारण र अन्य खगोलिए प्रमाण तथा आधारहरू रहेका छन् ।

हिन्दु धर्मको परम्परा अनुसार ग्रहणको समयमा भोजन र जलआदि ग्रहण गर्न बर्जित गरिएको छ । ग्रहणकालमा भोजन बनाउनु् वा यसको तयारी गर्नु समेत हुदैन । कुनै पनि शुभकार्यको थालनी गर्नु हुदैन अन्यथा असफलता प्राप्त हुनेछ । देव पूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बच्नु पर्दछ । ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ । यस कालमा मदिरा, धुम्रपान वा सुर्ति सेवन गर्नुहुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ । ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नु हुदैन । साथै यस कालमा माछामासु काट्ने वा बेच्न अशुभ हुने मान्यता छ ।

ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनु हुदैन । यस समयमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ । ग्रहण कालमा तिखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित छ । ग्रहणकालमा निदाउनु समेत हुदैन अन्यथा यसले हानि पुर्या उने धार्मिक मान्यता छ । ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित गरिएको छ अन्यथा अशुभ हुने विश्वास गरिएको छ । ग्रहणलाई नागों आखाँले हेर्नु हुदैन । ग्रहणको छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ । ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुदैन ।

अन्त्यमा,

नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो वर्ष नेपालबाट अरु कुनै पनि ग्रहण देखिने छैनन् । ग्रहण अवधिमा धार्मिकरूपमा बर्जित गरिएका कार्यहरू पालना गर्दा स्वास्थ्य र शारीरिक रूपमा नै लाभ हुनेमा विश्वास गर्न सकिन्छ । चन्द्र, सूर्य र पृथ्वी एउटै रेखामा हुने हुदा ग्रहणको समयमा समुन्द्रमा छाल आउन सक्ने, भूकम्प जान सक्ने संभावना पनि हुन सक्छ । यो खण्डग्रास सूर्य ग्रहण नेपालबाट मात्र नभइ विश्वका अन्य देशहरुबाट पनि देख्न सकिन्छ । यस ग्रहणलाइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भूटान, चीन, म्यान्मार, अफगानिस्तान, अफ्रिका, अष्ट्रेलिया, अमेरिकाका केही भूभाग, अन्टार्टिका साउदी अरब, कङ्गो, इथोपिया लगायत युरोप, एशिया महाद्विपका विभिन्न देशहरुबाट समेत देख्न सकिन्छ ।

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)

 
 
  
 

You may also like