बटवल । यही मंसिर १५ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका लागि क्यानडाका पूर्व कप्तान साद विन जाफर अनुबन्धित भएका छन् । लुम्बिनीले पाँचौ विदेशी खेलाडीका रुपमा जाफलालाई अनुबन्ध गराएको बिहीवार सामाजिक संजाल मार्फत जनाएको छ ।
यसअघि लुम्बिनीले इङ्ग्ल्याण्डका टम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इण्डिजका रामोन सिम्नोड्सलाई टोलीमा अनुबन्ध गरेको थियो ।
पाकिस्तानमा जन्मिएका ३८ वर्षीय क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फम्र्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् । बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
जफरले क्रिकेट इतिहासमा एउटा बेग्लै स्थान राखेका छन् । टी-२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन् । नोभेम्बर २०२१ मा भएको पनामा विरुद्धको उक्त खेलमा उनले ४ ओभरमा २ विकेट लिएर ४-४-०-२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि आजसम्म अपराजित छ ।
लुम्बिनी लायन्सका लागि एनपीएल २०२४ मा आबद्ध भएपछि जफरले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा म अत्यन्तै उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउन चाहन्छु ।’