प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गर्न २ देखि ४ महिना लाग्न सक्ने, कस्तो छ स्वास्थ्य ?

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन् ।

‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ निको हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने ।

एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि ८ दिनअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो । स्वास्थ्यमा निरन्तर राम्रो सुधार भए दुईदेखि चार महिनापछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न सकिने डा. काफ्लेको भनाइ छ ।

यसअघि गत शुक्रबार प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा हतार गर्नुपर्ने अवस्था नरहेको बताएकी थिइन् । अनुकूल समय पारेर प्रत्यारोपण गरिने उनको भनाइ थियो ।

मिर्गौला प्रत्यारोपणका क्रममा अर्को मिर्गौला राख्न सक्ने ठाउँ ठीक हुनुपर्ने डा. काफ्ले बताउँछन् । ‘पेटको संक्रमणले प्रधानमन्त्रीको आन्द्रा वरिपरिको झिल्लीमा कस्तो प्रभाव पारेको छ,’ उनले भने, ‘त्यसले शल्यक्रियाको जटिलता समेत निर्धारण गर्छ ।’

पछिल्लो समय डाक्टरहरूले प्रधानमन्त्रीको छिटोछिटो डायलसिस गरिरहेका छन् । आइतबारसम्म ६ दिनमा ४ पटक डायलसिस गरेका थिए । प्रधानमन्त्री ग्रान्डी हस्पिटलमा रहेका बेला भने २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो । कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like