रुप फेर्दै न्युरोड : न्युरोडदेखि जुद्ध सालिक हुँदै इन्द्रचोक र भूगोलपार्क आसपाससम्म सौन्दर्यीकरण गरिंदै

by समतल अनलाइन

काठमाडौं । देशको राजधानी न्युरोडको मुहार फेरिने भएको छ । काठमाडौं महानगर, प्रदेश–३ सरकार र संघीय सरकारले संयुक्त रूपमा न्युरोड गेटको सौन्दर्यीकरण गर्ने भएका छन् । त्यसका लागि गुरुयोजनासमेत तयार भइसकेको छ । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले गुरुयोजना तयार पारेको हो ।

न्युरोड गेटलाई काडमाडौंको नेवाः परम्परा र संस्कृति झल्किने गरी नयाँ स्वरूपमा उभ्याउन गुरुयोजना तयार पारेको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । ‘न्युरोड गेट हुँदै जुद्ध सालिक र त्यहाँदेखि इन्द्रचोकसम्मको सडकको पुरातात्विक महत्वलाई समेत ध्यानमा राखेर पुनर्निर्माण गर्ने गुरुयोजना तयार पारेका छौँ,’ उनले भने, ‘टी आकारमा करिब ८५० मिटर सडकको सौन्दर्यीकरण गरिनेछ ।’

पहिलो चरणमा न्युरोडदेखि जुद्ध सालिक हुँदै इन्द्रचोक र भूगोलपार्कको आसपाससम्म सौन्दर्यीकरणको अभियान अघि बढ्नेछ । ‘महानगरको भित्री सहर कला, संस्कृति र परम्पराले भरिपूर्ण छ । हामी यसको संरक्षण र संवद्र्धनमा लागेका छौँ,’ सांसद कृष्णगोपाल श्रेष्ठले भने, ‘यो क्षेत्रमा पुरातात्विक र ऐतिहासिक महत्वका देवालय र मठमन्दिर प्रशस्त छन् ।

यी हाम्रा अमूल्य निधिको संरक्षण र संवर्धन गर्नु हाम्रो दायित्व हो । त्यसैले, हामी इतिहास नमर्ने गरी आधुनिकीकरणको अभियानमा लागेका छौँ ।’ उनले न्युरोड गेट यसअघि तीनपटक पुनर्निर्माण भएको बताए । अब भने न्युरोड गेटलाई परम्परा झल्किने गरी पुनर्निर्माण गर्ने र न्युरोडलाई सांस्कृतिक धरोहरका रूपमा चिनाउने गरी अभियान अघि बढाउने उनको भनाइ छ ।

जुद्धशमशेरले बनाएका थिए नयाँ सडक
न्युरोड नेपालको शहरी विकासको इतिहासमै एक महत्व्पूर्ण क्षेत्र हो । १९९० सालको महाभूकम्पअघिसम्म विभिन्न पोखरी र पाखो ठाउँका रूपमा रहेको यो ठाउँमा भूकम्पपछि तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले पिच सडक निर्माण गरेका थिए ।

जसको खास नाम जुद्ध सडक हो । तर, त्यो काठमाडौंको सबैभन्दा नयाँ सडक भएकाले पछि त्यसलाई ‘नयाँ सडक, न्युरोड वा न्हू सतक’ भन्न थालियो । नयाँ सडक नेपालकै पहिलो पिच सडक हो । न्युरोडसँगै रहेको भूगोल पार्कचाहिँ नेपालकै पहिलो व्यवस्थित पार्क हो, त्यसको ठीक पछाडि नेपालकै पहिलो बैंक नेपाल बैंकको केन्द्रीय कार्यालय छ ।

प्रतिनिधिससभा सदस्य कृष्णगोपाल श्रेष्ठ भन्छन् ‘काठमाडौं महानगरको भित्री सहर कला, संस्कृति र परम्पराले भरिपूर्ण छ । हामी यसको संरक्षण र संवर्धनमा लागेका छौँ ।’

न्युरोडमै नेपालको पहिलो सिनेमा भवन ‘जनसेवा सिनेमा’ निर्माण गरिएको थियो, जो पछि आगलागीमा परी ध्वस्त भयो । त्यही ठाउँमा अहिले विशालबजार निर्माण गरिएको छ । विशालबजार नेपालकै पहिलो डिपार्टमेन्ट स्टोर हो । न्युरोडमै नेपालको पहिलो दमकल सेवा ‘जुद्ध वारुणयन्त्र’ राखिएको छ ।

यस्तै, आगलागी हुँदा जमिनबाट पानी निकालेर फाल्ने पहिलो फायर हाइड्रेन्ड पनि न्युरोडमै छ । विदेशबाट सामान आयात गरी बिक्री गर्ने पहिलो सप्लायर्स पसल छाता भण्डार न्युरोडबाटै सुरु गरिएको थियो । मोटरसाइकल भाडामा दिने र त्यहीँबाट अहिलेको जस्तो ‘टुटल र पठाओ’ सेवा प्रदान गर्ने कार्य पनि न्युरोडबाटै सुरु भएको थियो ।

‘यति धेरै इतिहास बोकेको ठाउँलाई व्यवस्थित गर्नु र संरक्षित गर्नु स्थानीय सरकारको दायित्व पनि हो, अहिले महानगरपालिका त्यसैमा जुटेको हो,’ वडाध्यक्ष महर्जनले भने, ‘हामी नयाँ सडकलाई पुनर्जीवन दिन लागिरहेका छौँ । यो व्यापारिक हब हो । पर्यटकलाई घुम्नका लागि आकर्षक ठाउँ बनाउनेछौँ ।’

न्युरोड गेटमा अष्टमातृकाका मूर्ति राखिने
शहरी योजना आयोगले तयार गरेको गुरुयोजनाअनुसार न्युरोड गेटको माथिल्लो भागमा अष्टमातृकाका मूर्ति राखिनेछ । गेटको दायाँ–बायाँ नगर रक्षकका रूपमा गणेश र कुमारको मूर्ति स्थापना हुने छन् । गुरुयोजनामा फुटपाथलाई व्यवस्थित गर्ने उल्लेख छ ।

रेलिङलाई पनि नेवाः संस्कृति झल्किने गरी व्यवस्थित गर्ने तयारी भएको सहरी योजना आयोगले जनाएको छ । रेलिङमा जीवित देवी कुमारीको प्रतीक स्वरूप तेस्रो आँखा र काष्ठमण्डपको चित्र अंकित गरिने छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like