दाङ-रुपन्देही सम्पर्क समाज बुटवलद्वारा रक्तदान

बुटवल । दाङ-रुपन्देही सम्पर्क समाज बुटवलले पहिलो रक्तदान कार्यक्रम आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
५८ औं रक्तसञ्चार दिवसको अवसरमा समाजले पहिलो रक्तदान कार्यक्रम गरेको हो ।

बुटवलको रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा दाङबाट रुपन्देही आएर बसेका दाङबासीहरुको उपस्थिति रहेको थियो । बुटवलमा पछिल्लो समय नियमित डायलासिस, प्रसुति, दुर्घटना र रक्तअल्पताका बिरामीहरु बढेसँगै रगतको उच्च माग बढेको छ । यस अघि रगत नपाए बुटवल जानु भन्ने कथनलाई स्थापित गर्न सफल भएको नेपाल स्वयंसेवी रक्तदाता समाज बुटवललाई अहिले दैनिक रगतको मागलाई धान्न सकस पर्दै आएको छ ।

सोही समस्यालाई मध्यनजर गर्दै दाङ रुपन्देही-सम्पर्क समाजले रक्तसंचार दिवसको अवसर पारी समाजको पहिलो रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजका अध्यक्ष रेशम बहादुर महराले बताए । उनले भने हामीले समाजलाई औपचारिक रुपमा वैधानिकता दिएपछि यो पहिलो रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ। यसलाई अब हामीले नियमित रुपमा गर्नेछौं ।

रगतको अभावले कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० युनिट रगत सङ्कलन भएको समाजकी सचिव रमा सुवेदीले जनाएकी छिन् ।

समाजका अध्यक्ष रेशम वहादुर महराको अध्यक्षतामा भएको कार्यक्रमकामा तुलसीपुर उपमहानगरपालिका वडा न-५ निवासी हाल बुटवल उपमहानगरपालिका वडा न-१ का वडाध्यक्ष नरेन्द्र वस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले दाताहरुबाट संकलन गरेको रगतलाई नि: शुल्क रुपमा प्रदान गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका थिए ।

 
 
  
 

You may also like