१६ वर्षमै विवाह, २० वर्षमै आमा

by समतल अनलाइन

लमजुङ । कानुनमा २० वर्षअघि विवाह गर्न बन्देज छ । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउने मध्येमा १८ प्रतिशत महिला २० वर्षमुनिकै रहेको एक तथ्याङ्कले देखाएको छ ।

२० वर्षभन्दा कम उमेरमा गर्भवती भएका महिलाहरूको विवाह भने १६ देखि १८ वर्षमा भएको पाइएको जिल्ला सामुदायिक अस्पतालको अनुमान छ ।

जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला सामुदायिक अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रम अन्तर्गत गाउँ–गाउँमा सचेतना मुलक कार्यक्रमहरू गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझैं उमेर नपुगी विवाह गर्ने चलन रोकिन नसक्नु जनचेतनाको अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बनेको छ ।

सानो उमेरमा गरिने विवाहले महिलाहरूको स्वास्थ्यमा पनि असर पर्ने हुँदा यस तर्फ सचेत गराउन स्वास्थ्य शिक्षाबारे विद्यालय तहमै बढी जानकारी गराउनुपर्ने जिल्ला सामुदायिक अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठ बताउँछन् ।

अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्याङ्कमा प्रसूति गराउने मध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख श्रेष्ठ बताउँछन् । विशेष गरी ग्रामीण क्षेत्रका दलित र जनजाति समुदायका महिलाहरू सानै उमेरमा वैवाहिक जीवनमा बाँधीने र गर्भवती हुने गरेका लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ ।

२० देखि ३५ वर्ष उमेरसम्म मात्र गर्भवती हुँदा स्वास्थ्य राम्रो हुने अस्पतालकी नर्सिङ्ग प्रमुख राममायाँ ठकुरी बताउँछीन् । ३५ भन्दा माथिको उमेर पनि प्रसूतिका लागि उपयुक्त नहुने र १९ वर्षभन्दा कम र ३५ भन्दा माथिको उमेरमा गभर्वती हुँदा पाठेघर खस्ने, विभिन्न रोगको संक्रमण तथा मृत्युको जोखिम समेत धेरै हुने विषयको जानकारी ग्रामीण तहसम्म पुर्‍याउन संयन्त्र बनाइएपनि प्रभावकारी हुन नसकेको नर्सिङ्ग प्रमुख ठकुरीको भनाइ छ ।

कम उमेरमा गर्भवती हुँदा स्वास्थ्यमा गम्भीर समस्या समेत पर्ने भनि सचेतना बढाउन महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।

जिल्ला सामुदायिक अस्पताल लमजुङमा चालु आव ०७६–७७ को साउनबाट कार्तिक सम्म ३ सय २७ जनाले अस्पतालबाट प्रसुती सेवा लिएकोमा २० वर्ष मुनीका ५३ जना रहेका छन् । त्यस्तै आर्थिक वर्ष ०७५–७६ मा १ हजार ११ जनाले प्रसुती सेवा लिएकोमा १ सय ८३ जना २० वर्ष मुनीका रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै आ.व ०७४–७५ मा १ हजार १ सय ९० जनाले अस्पतालबाट प्रसुती सेवा लिएकोमा २० वर्ष मुनीका ३ सय ६३ जना रहेको अस्पतालको तथ्याङ्कमा छ । लमजुङ, मनाङ, तनहुँ र गोरखा क्षेत्रमा पायक पर्ने अधिकांश महिलाहरु लमजुङ जिल्ला सामुदायिक अस्पताल लगायत स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको अस्पतालले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like