मुख्यमन्त्री बाहेक प्रदेश–१ का सबै मन्त्री ऋणमा !

by समतल अनलाइन

मोरङ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बाहेक सबै मन्त्रीहरू ऋणमा देखिएका छन् । गत वर्ष मन्त्रीहरूको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसपालि सार्वजनिक गरेको छ । गत वर्ष जस्तै यो वर्ष पनि चारै जना मन्त्रीले आफूहरू ऋणमा रहेको देखाएका हुन् ।

प्रदेश सरकारको ढुकुटी सञ्चालन गर्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो २ करोड ७१ लाख ऋणमा छन् । उनले नेपाल इन्भेस्टमेन्ट बैंकबाट २ करोड ५१ लाख र कुमारी बैंकबाट २० लाख रुपैयाँ व्यवसायका लागि ऋण लिएको उल्लेख गरेका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले बैंक अफ काठमाण्डुबाट १ करोड १८ लाख ५५ हजार र एक्सल बैंकबाट ४ लाख ३२ हजार गरी १ करोड २२ लाख ८७ हजार रुपैयाँ ऋण लिएको विवरण गत वर्ष पेस गरेका थिए । एक वर्षमा उनले एक्सल बैंकबाट लिएको ४ लाख ३२ हजार रकम ऋण घटाएको उल्लेख गरेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत पनि १८ लाख रुपैयाँ ऋणमा छन् । उनले गत वर्ष ज्योति विकास बैंकमा ६३ लाख र विजेन्द्र श्रेष्ठलाई १० लाख रुपैयाँ ऋण तिर्न बाँकी देखाएका थिए ।

उनले एक वर्षमा विजेन्द्र श्रेष्ठको १० लाख र ज्योति विकास बैंकको ६३ लाखमध्ये ४५ लाख ऋण चुक्ता भएको विवरण पेस गरेका छन् । त्यसअनुसार उनले एक वर्षमा ५५ लाख रुपैयाँ सम्पत्ति थप गरेको देखिन्छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले गत वर्षझैं यो वर्ष पनि सम्भावी सहकारी बानेश्वरमा ३ लाख रुपैयाँ ऋण रहेको विवरण पेस गरेका छन् । सेयर लगानी र सम्पत्तिका हिसाबले गत वर्ष सबैभन्दा धनी देखिएका सामाजिक विकासमन्त्री घिमिरे यो वर्ष पनि अगाडि देखिएका छन् ।

उनको विभिन्न स्कुल, हाइड्रो, कृषि फार्म लगायतमा १ करोड ३४ लाख २० हजार बराबरको सेयर, १२ तोला सुन, २० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको बैंक मौज्दात रकम भने घटेको छ । गत वर्ष ५ लाख नगद रहेको उल्लेख गरेका मन्त्री घिमिरेले यो वर्ष २२ हजार रुपैयाँ मात्र बैंक मौज्दात देखाएका छन् ।

गत वर्ष एउटा मारुती कार, एउटा स्कुटर र एउटा मोटरसाइकल, विराटनगर–११ मा १ कट्ठा जग्गामा बनेको घर, कटहरी–४ मा ३३८६ वर्गमिटर जमिन, विराटनगर–११ मा ३४५ वर्गमिटर जग्गा र श्रीमती विमला घिमिरेको नाममा केराबारी–२ मा १६ रोपनी जग्गा देखाएका उनको यो वर्षको विवरणमा मारुती कार उल्लेख छैन ।

मन्त्री कार्कीले श्रीमती र आफ्ना नाममा स्कुल, अस्पताल र हाउजिङमा गरी ३२ लाख ८८ हजार बराबरको सेयर राखेका छन् । उनीसँग २२ लाखमा खरिद गरेको सेन्ट्रो कार, ६ तोला सुन, १० तोला चाँदी र श्रीमती अन्जना पाण्डेको नाममा लुम्बिनी बैंकमा ३५ लाख नगद मौज्दात रहेको उल्लेख छ ।

यसैगरी दाजु दीपक कार्कीसँगको साझेदारीमा गौरादह–१ मा डेढ कट्ठा जग्गा रहेको विवरण उनले बुझाएका छन् । मन्त्री कार्कीले यही वर्ष ललितपुरको महालक्ष्मी नगरपालिकामा घर किनेको स्रोतको दाबी छ । तर सम्पत्ति विवरणमा उनले यो खुलाएका छैनन् ।

मन्त्री आङ्बोले पाँचथरको फिदिम–११ मा सगोलको ५ रोपनी जग्गामा बनेको घर, ५० रोपनी जग्गा, श्रीमती कुमारी लावतीको नाममा झापाको बिर्तामोड र कमलमा ६० लाख रुपैयाँमा खरिद गरेको ३ कट्ठा जग्गा, इलामको चुलाचुलीमा मिक्लाजुङ कृषि फार्मका नाममा रहेको २ बिघा जग्गालाई सम्पत्ति विवरणमा देखाएका छन् ।

विभिन्न बैंकमा उनको र श्रीमतीका नाममा ६ लाख बराबरको रकम मौज्दात भएको र १० तोला सुन तथा २० तोला चाँदी रहेको खुलाएका छन् । उनको पालुङ खोला हाइड्रो पावरमा १० प्रतिशत सेयर र ३० लाखको लगानीमा सञ्चालन गरेको फेन्सी पसल समेत छ ।

मन्त्री कुसियतलको सुनसरीको कोसी गाउँपालिका–५ मा २ कट्ठा जग्गामा बनेको घर र ७ बिघा जग्गा, काठमाडौंमा ७५ लाखमा किनेको जग्गा छ । उनले गत वर्ष पेस गरेको विवरणमा विभिन्न बैंकमा २ लाख १२ हजार मौज्दात देखाएका थिए ।

एक वर्षमा उनको बैंक मौज्दात ३७ लाख ६२ हजार पुगेको छ । २९ लाख रुपैयाँमा खरिद गरेको टाटा कारसहित ४० वटा पशुचौपाया रहेको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री राईसँग कृषि विकास बैंक, हाइड्रो र स्कुलमा १२ लाख २४ हजार बराबरको सेयर छ ।

उनले विभिन्न व्यक्तिलाई ४ लाख ५० हजार ऋण दिएका छन् । उनीसँग टोयटा कम्पनीको एउटा जिप, १५ तोला सुन, ३० तोला चाँदी पनि छ । गत वर्ष विभिन्न बैंकमा गरी १० लाख ४७ हजार नगद रहेकोमा यो वर्ष बढेर १४ लाख ५० हजार पुगेको उनले उल्लेख गरेका छन् । उनको भोजपुरको आमचोक–३ मा ९ हेक्टर ८ रोपनी जग्गा र पैतृक घर र इटहरी–५ मा ८ धुर जग्गा छ । कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like