डा. केसीले नमानेपछि डडेलधुराबाट रित्तै फर्कियो सेनाको हेलिकोप्टर

by समतल अनलाइन

डडेलधुरा । काठमाडौं फर्किन नमानेपछि उनलाई लिन पुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्किन वाध्य बनेको छ । डा. केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिएकाले काठमाडौं जान पटक–पटक आग्रह गर्दा पनि नमानेपछि मन्त्रालयलाई अनुरोध गरेर हेलिकोप्टर फिर्ता गराएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले केसीलाई काठमाडौं पठाउन सोमबार विहान गृह मन्त्रालयसँग हेलिकप्टर माग गरेका थिए ।

‘डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएको र मेडिकल सुपरिटेण्डेन्टले पनि सुविधासम्पन्न अस्पतालमा लैजानु पर्ने भनिसकेपछि हेलिकप्टर मगाएको हो’ उनले भने ‘तर उहाँले काठमाडौं जान मान्नु भएन, सहयोगीहरुले पनि उहाँको इच्छाविपरीत केही गर्न नसक्ने बताएपछि किन कन्फ्रन्टेसन निम्त्याउने भनेर हेलिकप्टर फिर्ता पठाइएको हो ।’

केसीलाई लिन सेनाको हेलिकप्टर पुगेपछि सोमबार विहान डडेल्धुरामा डा. केसीका समर्थक र प्रहरीबीच तनाव अवस्था सिर्जना भएको थियो । लगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले डा. केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठक राखेका थिए ।

बैठकमा डा. केसीका समर्थकले उनको सहमतिविपरीत कुनै निर्णय गर्न नसक्ने बताएका थिए । डाक्टर केसीले माग पूरा गर्नासाथ अनशन तोड्छु भन्दै अडान राखेपछि हेलिकप्टर फिर्ता भएको हो ।

 
 
  
 

You may also like