गुल्मीदरबारमा स्तनपान सप्ताह सुरु

टोपलाल अर्याल
गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकामा स्तनपान सप्ताह सुरु भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले ‘आमाबुवाको सक्षमता, स्तनपानको सफलता’ भन्ने नारासहित दरबार देबिस्थान स्वास्थ्य चौकीबाट सप्ताहको सुरुवात गरेको हो । गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले महिला र बालबालिकाहरुको स्वास्थ्यका विषयमा आफुहरु गम्भिर भएर लागेको बताए । उनले गत बर्ष पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको अवगत गराउँदै यस पनि घरघरमा सेनिटरी प्याड कार्यक्रम, सुत्केरीको घरघरमा जाँच, गर्भवतीसँग गाउँपालिका कार्यक्रम, पुर्ण संस्थागत प्रसुती अभियान, स्वास्थ्य आमा समूह पुनर्जागरण जस्ता कार्यक्रम यस वर्ष सञ्चालन गरिने उनले बताए ।

कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले मानव जीवनमा स्तनपानको महत्वको बारेमा प्रकाश पारेका थिए । उनले मानव जीवनमा स्तनपान अवधी अत्यन्त महत्वपुर्ण हुने बताए । आमाको अमृत समान पहिलो पहेँलो दुधले बच्चालाई जीवनभर रोगसँग लडने शक्ति दिने उनले बताए । बच्चा जन्मेको एक घण्टा भित्र आमाको दूध अनिवार्य रुपमा चुसाउनुपर्ने, बच्चा ६ महिना नपुग्दासम्म आमाको दूध बाहेक अरु कुनै ठोस खानेकुरा खुवाउन नहुने उनले बताए । अर्यालले बच्चालाई ६ महिना पुगेपछी पनि पुरक खानाको साथमा २ बर्ष नपुग्दासम्म आमाको दूध खुवाइ रहनुपर्ने बताए ।

 
 
  
 

You may also like