एक डोज लगाए हुने अमेरिकाले दिने १५ लाख खोप सोमबार काठमाडौं आइपुग्ने

काठमाडौं। अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत नेपाललाई उपलब्ध गराउन लागेको कोभिड–१९ विरुद्धको खोप आगामी सोमबार काठमाडौं आइपुग्ने भएको छ ।

अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

शनिबार दिउँसो फेसबुकमार्फत डा. भट्टराईले खोप उपलब्ध गराउन लागेको अमेरिकी सरकार र पहलकर्ताहरूलाई धन्यवाद दिएका छन् । उनले थप खोप ल्याउने पहलमा सरकार निरन्तर लागिरहेको पनि जानकारी गराएका छन् । जोन्सन एण्ड जोन्सन एक डोज मात्र लगाए हुने खोप हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ । दूतावासका प्रवक्ता एन्ना रिच एलेनले १५ लाख डोज खोप उपलब्ध गराउनका लागेको बताएकी छिन् ।

‘नेपाली जनतालाई लागि अमेरिकाको दशकौं पुरानो प्रतिवद्धताअनुसार र कोभिड १९ संकटमा रहेको नेपाललाई जारी सहयोगको विस्तार अनुसार, हामीले १५ लाख जोनसन एन्ड जोनसनको खोप नेपाललाई सहयोग गर्दैछौं’ एलेनले भनेकी छन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई जीवन रक्षा गर्ने एकल उद्देश्य उपहार हो ।’

उता, चीनबाट खरिद गरिएको भेरोसेल खोपको आठ लाख डोज शुक्रबार बिहान नेपाल आइपुगेको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिदको सम्झौता गरे अनुसार पहिलो खेप खोप नेपाल आएको हो । नेपाल वायु सेवा निगमको वाइडबडी विमान बिहीबार साँझ खोप लिन बेइजिङ गएको थियो ।

 
 
  
 

You may also like