जन्मदिनको अवसरमा छोरालाई लेखिएको पत्र

  • विद्या खत्री

प्रिय छोरा रियु,
तिमीलाई अचम्म लाग्ला, जन्मदिनको दिन नै तिम्रो आमाले किन होला पत्र लेख्नु भएको भनेर रु तिमीलाई अथाह प्रेम गर्ने तिम्री आमा, ममताकी खानी, जिवनको पाइला पाइलामा आइलाग्ने बिष पिउन सक्ने निलकण्ठ हुँ म, त्यसैले त म आज तिम्रो लागि जानी नजानी पत्र लेख्न सुरुवात गर्दै छु ।
थाहा छैन रियु, कुन कुरा कहाँबाट लेख्न सुरु गरु र कहाँनेर गएर अन्त्य गरुँ रु सघंर्ष गर्दा गर्दै यहाँ सम्म आइपुगे, तिमीलाई त्यही संघर्षका निचोडहरु दिन मन लाग्यो । चाहे त्यो संघंर्ष तिमी जन्मिन भन्दा अगाडिको होस् या त पछाडिको । छोरा तिमीलाई पनि संघर्षशील बनाउने मन छ, किनभने त्यसले तिमीलाई सधै सकरात्मक सोच राख्न र सत्कर्ममा लाग्न प्रेरित गर्छ ।

हरेक आमाबुवाले आफ्ना सन्तानमा अपूरा सपनाहरु पूरा गर्ने आशा बोकेका हुन्छन् ।तर म तिमीमा मेरा अपूरा सपनाहरुको भारी बोकाउँदिन । आखिर ठूला ठूला सपनाले भन्दा जोडिएका साना साना सपनाले नै खुशी दिने गर्छन् ।

म तिमीमा यही सपना देख्दछुः

 सधै असल ब्यक्ति बन्नु र सत्कर्ममा लाग्नु ।
 भौतिक संसारमा भुले पनि अध्यात्मिक संसारको सधै चिन्तन गर्नु ।
 संसारमा रहेका हरेक प्राणीमा सेवाको भावना राख्नु, समान ब्यवहार राख्नु ।
 हरेक दुःख सुःखमा तिमी नआत्तिनु, सत्य कुराको पक्षमा एक्लै भएपनि जहिले पनि सधै अडिग रहनु ।

जिन्दगीमा सोचेजस्तो कहिल्यै पनि मिलेको हुँदैन छोरा १ कुनै न कुनै कुनामा जिन्दगीले आफूलाई च्यापिरहेको हुन्छ र अगाडि बढ्न अवरोध सिर्जना गरिरहेको हुन्छ । जिन्दगीबाट कहिल्यै पनि कसैसंग केहीको अपेक्षा नराख्नु, आफूले आफ्नो कर्म गरिरहनु । तिमी विद्वान बन्नु, हरेक परिस्थितिसंगै आएका हरेक चुनौतीलाई सामना गर्न सक्ने हुनु । तिम्रो राम्रो आचरणले संधै सबैको प्रिय बन्नु ।सबैको आँखाको नानी बन्नु । तिम्रो हृदय, तिम्रो भित्री आँखा सधै खुला होस् । तिम्रा सकरात्मक सोचले गर्दा तिम्रो साथीभाईलाई समेत सुमार्गमा हिड्न मार्गनिर्देशन गरोस् ।जीवनको वास्तविक मूल्य बुझ्नु तथा दीन दुःखीको सेवामा सधै लागिरहनु ।

यी सबै कुरा भनिरहँदा, दिमागमा एउटै कुरा खेलिरहेको छ । यो बदलिदो र स्वार्थी समाजमा तिमीलाई कस्तो शिक्षा दीक्षा दिउँ रु तिम्रो लालन पालन कसरी गरुँ म रु समाजमा रहेका कुरितिबाट कसरी जोगाउँ तिमीलाई रु तिमी बढ्दै जाँदा समाजमा देखिएका राम्रो र नराम्रो पक्ष दुवैलाई देख्नेछौ । के तिम्रो मन राम्रो कुरा प्रति मात्र आकर्षित होला रु जीवनमा एउटा यस्तो क्षण पनि आउँछ, जहाँ जतिबेला नराम्रो पक्षले तिम्रो भित्री मनलाई धमिल्याउनेछ । तिमी सत्य बाटोबाट भड्कन सक्नेछौ । त्यो बेला यति कुरा याद गर्नु कि, तिमी सत्य र असत्य के हो पहिला छुट्टाउनुपर्नेछ । हरेक परिस्थतिलाई केलाऊ । आफ्नो बौद्भिकताले काम गर ।

म यी शब्द कोरिरहँदा, तिमी बेला बेलामा मेरो काखमा आएर बसिरहन्थ्यौ । कहिले डायरीका पानाहरु च्यात्ने कोसिस गर्थ्यौ ।कहिले मेरो हातबाट पेन खोसेर आफ्नै हातभरि कोर्थयौ । कति स्वच्छ छ तिम्रो मन, कति अबोध छौ अहिले । जसरी तिम्रो मन अहिलेको जस्तै सफा छ, त्यस्तै सधैभरि सफा र निर्मल होस् । तिमी बलिरहेको दियो जस्तै सधै उज्यालो भइरहनु । तिम्रो जीवन सफल होस् ।
तिम्रो हरेक जन्मदिन खुशीसाथ सधैभरि मनाउन पाऊँ ।तिम्रो दिर्घायुको कामना, पाइला पाइलाका काडाँहरुलाई सजिलै पन्छाउन सक्नु । जन्मदिनको लाखौं लाख शुभकामना, छोरा ।

 
 
  
 

You may also like