गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान स्थगित

by समतल अनलाइन

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान गरिरहेको कतार एयरवेजले आफ्नो सेवा स्थगित गरेको छ।

कतार एयरवेजले कार्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० प्रयोग गरी दोहा–भैरहवा–काठमाडौं–दोहा रुटमा दैनिक उडान सुरु गरेको थियो। यो सेवाले यस क्षेत्रका पर्यटन व्यवसायी र स्थानीयलाई उत्साहित बनाएको भए पनि मंसिर १५ गतेपछि उडान रोकेपछि उनीहरू निराश भएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदकुमार रावतका अनुसार, कतार एयरवेजले मंसिर १५ गतेसम्म उडानको अनुमति लिएको भए पनि समयावधि सकिएपछि अनुमति नथप्दा आइतबारदेखि उडान बन्द भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भैरहवाबाट उडान निरन्तरता दिनका लागि एयरवेजलाई प्रस्ताव पठाइएको तर एयरवेजले उच्चस्तरमा छलफलपछि निर्णय लिने बताउँदै पछि कुनै जवाफ नदिएको जानकारी दिए। उनले भने, “एयरलाइन्सले चासो कम देखायो। हामीले फलोअप पत्र पठायौँ तर खबर गर्ने मात्रै जवाफ आयो।”

भैरहवाबाट उडानको सम्भावनालाई निरन्तरता दिन समन्वय भइरहेको भुलले बताए। कतार एयरवेजले चैत १६ गतेसम्म अनुमति लिनुपर्ने भए पनि मंसिर १५ सम्ममात्र अनुमति लिएर समय थप नगरेको उनले बताए।

यो अवधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरिसकेको गौतमबुद्ध विमानस्थल कार्यालयले जनाएको छ। यसैबीच, पर्यटन व्यवसायीहरूले यो सेवा नियमित गर्न माग गरेका छन्। हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई, र थाई एयर एसियाले नियमित उडान गरिरहेका छन्।

 
 
  
 

You may also like