कोरोनाको कहरमा छोरालाई खुल्ला पत्र

प्यारो छोरा आशीर्वाद ,
कोरोना भाइरस (COVID 19) बाट विश्व नै आक्रान्त भएको कुरा तिमि लाई थाहा नै छ । त्यसको चपेटामा नेपाल पनि अछुतो रहेन । त्यसैले म लगायत बटौली(पुरानो बुटवल)का युवा साथिहरूले नेपाल सरकारले गरेको लकडाउनबाट प्रभावित श्रमजीवी वर्गका साथीहरु नेपालको विभिन्न स्थानमा श्रम गरिरहेको अवस्थामा रोजगार बिहिन भएर आ-आफ्नो जन्मघरको गन्तव्य प्रस्थानका लागी निकै दिन लगाएर भोकभोकै पैदल हिडेर बुटवलसम्म आइपुगेको सूचना प्राप्त भएपछि हामीले ती मजदुरहरुको दु:खमा थोरै मलम लगाउन सकिन्छ कि भनेर नयाँ वर्षको पहिलो दिन देखि सडकमा “बटौलि सडक खाना ब्यवस्थापन टोली” बनाएर लागेको कुरा जानकारी गराउन चाहान्छु ।

यो क्रममा हामीले कुनै स्वार्थ नराखी मानव सेवामा लागी रहदा हाम्रो टोलि लाई धेरै मनकारी दाताबाट मनग्य सहयोग भएको पनि बताउन चाहान्छु । धेरै दाताहरुले हामीहरु लाई फोन गरेर हौसलाका साथै नगद र जिन्सी सामाग्री दिनु भएको छ । हामीले संकलन गरेको र दानवीरहरुको सहयोग नै हाम्रो खर्चको मुख्य स्रोत भएको पनि जानकारी गराउन चाहन्छु ।

हामीले आज सम्म सोलु, काठमाडौं, पोखरा, चितवन, गुल्मी, स्याङ्जा, दोलखा, सिन्धुली लगायतका जिल्ला तथा ठाउँबाट बाँके, बर्दिया, सुर्खेत दाङ, प्युठान, सल्यान, कैलाली जान हिडेका १८ सय भन्दा धेरै श्रमजीवी साथीहरूलाई खाना खुवाउने, सवारी साधनको ब्यवस्थापन गरि घर पठाउने र अौषधी उपचार समेत सहयोगी मनको सहयोगबाट भैरहेको छ ।

तिमीलाई यी सबै कुरा बताइ रहदा यो बिच हामीलाई शुभकामना सहयोग दिनेको कमि छैन र आगामी दिनमा हुनेछैन भन्ने विश्वास लिएकाछौं । तर यो बिच हाम्रो कामबाट आफ्नो व्यापारमा गिरावट भएको महसुस गर्दै हामी भित्र गलत मनसाय भएकाहरू खेल्न नखोजेका होइन । हाम्रो कामबाट हाम्रै आफ्नाहरू भनिने भित्र भित्र जलि रहेका रहेछन र विभिन्न कोणबाट यिनिहरुले यत्रो पैसा कताबाट ल्याए, मजदुर वर्गबाट यति धेरै जयजयकार कसरी पाए, सबैले यिनिहरुकै चर्चा किन गरे आदि जस्ता कुरा गर्न थालेका छन । हामीले भोलिका दिनमा सबै विवरण सबै सामु पत्रकार सम्मेलन गरि सार्बजनिक गर्ने गरि हिसाब राखेको पनि तिमिलाई बताउन चाहान्छु । हामी बिच हाम्रो सेवालाई कमजोर पार्न कोहीले सहयोगको नाउमा राजनीतिक रंग दिन थालेको पनि आभास हुन थाल्यो । हाम्रो लोकप्रिय कामबाट केही साथीहरु मात्रै चर्चामा आउने भए भनेर पक्ष विपक्षको खेलमा साथीहरुले मिडिया बाजी गर्न लागेको बुझियो। केही सञ्चार माध्यमले हामीले गरेको कामलाई अर्कैको नाम जोडेर (जसको कुनै भुमिका छैन) प्रचार गरेको, अभिभावकत्व लिन खोजेको देखियो तर हामी कुनै नामको लागी काम नगरेको तर मानव धर्मको लागि सेवा गरेको कुरा छोरा तिमीलाई बताउन चाहान्छु ।

यसै बिच सबैले साझा सहयोगी भावनाबाट काम गरिरहँदा राजनीतिक व्यक्तिको अनुहार पनि हाम्रो बिच कामको जस लिन नदेखिएको भने होइन हुन त म पनि राजनीतिक व्यक्ति हुँ, बुटवल उपमहानगरपालिका वार्ड नं. १ को वडाध्यक्ष पनि हुँ मेरो सेवा क्षेत्र यस वडा मात्र हो भन्ने नसोचेर सबै मनव सेवामा लागेको छु । मनव सेवामा राजनीति गर्नु हुँदैन भन्ने मेरो धारणा छ ।

समाजमा अरुले गरेको कामको जस आफुले लिन खोज्ने काम चोरहरुको कुनै कमि छैन । अब तिमीले बुझ्न पर्ने कुरा के भने छोरा समाजमा अरुले गरेको कामबाट ईष्या गर्ने, अरुको काम आफुले गरेको वा आफुले गराएको भनी जस लिन खोज्ने र काम बिगार्नेको कमि छैन तसर्थ मानव सेवामा, न्यायको पक्षमा, श्रमजीवी मजदुरको पक्षमा, भोकाहरुको पक्षमा, नाङ्गाहरुको पक्षमा काम गर्न कुनै कसुर नराखी निस्वार्थ भावनाले लाग्नुपर्छ । सेवाको बाटोमा अाउने तगाराहरू उखेलेर फाल्नुपर्छ भनी बुझाउन यो लेखेको हुँ । छोरा जसले जे जस्तो व्यवहार गरे वा भने पनि हामी आफ्नो अभियानमा निरन्तर रहनु पर्छ र नामको खोजी होइन कि कामले नाम बन्नेछ भन्ने कुरामा बिश्वास राख्नुपर्छ भन्दै अन्यकुरा अर्को पत्रमा लेख्ने वाचा गर्दै कलम बन्द गर्दछु ।
उहीँ तिमीलाई भेट्न सम्म नपाई श्रमजीवी मजदुरको सेवामा खटेको तिम्रो बुवा महेन्द्र लिगल तिम्रौ बटौलीबासीसंगै सडकबाट…

 
 
  
 

You may also like