५१ देशमा फैलियो कोरोना : दुई हजार ८५२ को मृत्यु, ८३ हजार बढी संक्रमित

by समतल अनलाइन

काठमाडौं। चीनको बुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसका कारण अहिलेसम्म विश्वभर दुई हजार ८५२ जनाको ज्यान गइसकेको छ । यस्तै ८३ हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वभर एक हजार ३५८ नयाँसहित ८३ हजार ६५२ जना संक्रमित भएको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चीनमा ३३२ जना नयाँसहित ७८ हजार ९६१ जनामा संक्रमणको पुष्टि भइसकेको छ । त्यस्तै ४४ जना नयाँसहित चीनमा मात्र दुई हजार ७९१ जनाको ज्यान गइसकेको छ ।

चीनभन्दा बाहिर पाँच नयाँसहित ५१ देशका एक हजार २७ नयाँसहित चार हजार ६९१ जनामा संक्रमणको पुष्टि भइसकेको छ । चीनभन्दा बाहिरका यी देशहरुमा हालसम्म १० नयाँसहित ६१ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्व विश्व स्वास्थ्य संगठनका अनुसार चीन विश्वव्यापी तथा क्षेत्रीय रुपमा अति उच्च जोखिममा रहेको छ भने यो रोग विस्तारै अरु देशमा पनि फैलदै गएकाले विश्वव्यापी रुपमै सबैले सतर्क भने रहनुपर्ने जनाइएको छ ।

युरोपतिर फैलियो कोरोना संक्रमण, विश्वको अर्थतन्त्र नै प्रभावित
चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण युरोपतिर तीब्र गतिमा फैलिंदै गएको छ ।
कोरोनाका कारण विश्वव्यापी रुपमा शेयर बजार र अर्थतन्त्रमा नराम्रो असर परेको छ । अमेरिकी विदेश विभागले इटालीसँग सतर्कता बढाएको जनाएको छ ।

पछिल्लो समय इटालीमा पनि कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । इटालीमा १२ जनाको मृत्यु भइसकेको छ भने करिव सात सय जना कोरोनाबाट संक्रमित भएका छन् ।

कोरोनाका कारण विश्वव्यापी रुपमा दुई हजार आठ सय जनाको मृत्यु भइसकेको छ भने ८३ हजार भन्दा बढी प्रभावित भएका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि अमेरिकाले आगामी मार्च १४ मा दक्षिण पूर्वी एशियाका नेताहरुसँगको छलफल स्थगित गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत नोभेम्बरमा बैंककमा उक्त समूहसँगको शिखर सम्मेलनमा भाग नलिएपछि ती नेताहरुसँग भेट गर्न दक्षिणपूर्व एशियाली राष्ट्रहरुको १० सदस्यीय टोलीलाई आमन्त्रित गरिएको थियो ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको बढ्दो संक्रमण रोक्ने प्रयासहरु जारी रहे पनि यसबारेको भ्रम र गलत सूचना नियन्त्रण गर्न चुनौती रहेको बताएको छ ।

 

 
 
  
 

You may also like