अन्नपूर्ण हिमपहिरोमा हराएका सातमध्ये एकको शव भेटियो

by समतल अनलाइन

पोखरा। अन्नपूर्ण पदमार्गमा गत माघ ३ मा आएको हिमपहिरोमा पुरिएर वेपत्ता भएका सातमध्ये एक जनाको शव शुक्रबार फेला परेको छ ।

हिमपहिरो आएको स्थल कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित देउराली नजिक नेपाली गाइड सरोज परियारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

वेपत्ताको खोजीमा जुटेका सरोजका दाइ सन्दीप परियार र ट्रेकिङ मजदुरको टोलीले शव निकालेको थियो । प्रवक्ता राजकुमार केसीले शुक्रबार मौसम प्रतिकुलताले प्रहरी टोली त्यसतर्फ पुग्न नसकेको बताए । शनिबार प्रहरी पुगेर शवलाई पोखरा ल्याउने डिएसपी केसीले बताए ।

चितवनका सरोज एक चिनियाँ पर्यटक लिएर अन्नपूर्ण आधार शिविर जाँदैगर्दा बाक्लो हिमपात भएपछि देउरालीभन्दा माथि जान नसकेपछि फर्कने क्रममा हिंकु केभ नजिकैको ठूलो हिमपहिरोमा पुरिएका थिए ।

उनको साथमा भएकी चिनियाँ पर्यटक हिमपहिरोबाट उम्कन सफल भएकी थिइन् । हिमपहिरोमा पुरिएका अन्य ४ कोरियाली नागरिक र २ नेपाली गाइड र पोर्टर अझैं वेपत्ता छन् ।

 
 
  
 

You may also like