अमेरिकामा मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको प्रहरीले खुलायो पहिचान

by समतल अनलाइन

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको परिचय स्थानीय प्रहरीले खुलाएको छ ।

ह्युस्टन प्रहरीले बिहीबार (आज) राति हत्या आरोपमा पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बब्बीसिंह शाह भएको सार्वजनिक गरेको हो । यसअघि प्रहरीले मुना बस्ने गरेको अपार्टमेन्टबाट बाहरिँदै गरेको व्यक्तिको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो । ती व्यक्ति शाह नै भएको ह्युस्टन प्रहरीले जनाएको छ । तर उनको ठेगाना तथा हत्याको कारण भने अहिलेसम्म खुलाइएको छैन । शाहलाई बुधबार राति ८ बजे ट्राफिक स्टपबाट पक्राउ गरिएको ह्युस्टन प्रहरीले जनाएको छ ।

गत सोमबार साँझ मुना पाण्डे ह्युस्टनको वेस्ट एयरपोर्ट बुलेभार्डस्थित आफ्नै अपार्टमेन्टमा गोली लागेको अवस्थामा मृत फेला परेकी थिइन् । नेपालिज एशोसिएसन अफ ह्युस्टनका द्रोण गौतमका अनुसार पाण्डेलाई तीन गोली लागेको थियो र उनी ओछ्यानमै पल्टिरहेको अवस्थामा भेटिएकी थिइन् ।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् । सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् । पाण्डेको अन्तिम संस्कारका लागि नेपालबाट उनकी आमा अनिता पाण्डे अधिकारी अमेरिका जान चाहेकी छन् । तर उनले आर्थिक समस्या भएको बताएकी छन् ।

मुनाको अन्तिम संस्कार तथा उनकी आमालाई अमेरिका यात्राका लागि खर्च जुटाउन गोफन्डमी अभियान सुरु गरिएको छ । ५० हजार डलर संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको गोफन्डमी अभियानले सहयोगका लागि सबैसँग अपिल गरेको छ । मुनाकी आमा अनितालाई छोरीको अन्तिम संस्कारका लागि अमेरिका ल्याउन समेत आर्थिक सहयोग गर्नुपर्ने देखिएको अभियानले जनाएको छ । मुना आफ्नी एक मात्र सन्तान भएको र उनी पनि बितेपछि आफ्नो संसारै सकिएको दुखेसो अनिताले गरेकी छन् ।

 
 
  
 

You may also like