आज वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं । मौसम राम्ररी नखुले पनि केहि दिनयता वर्षा र हिमपात खासै भएको छैन । तर, आज (मंगलबार) राति देशका पहाडी भेगका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

आज राति पश्चिम, मध्य र पूर्व तीनै क्षेत्रका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना मौसमविदले बताएका छन् । तीनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताएकी छन् ।

‘यो कुनै नयाँ प्रणाली भित्रिएको होइन,’ मौसमविद् मानन्धरले भनिन्, ‘यो पहिलेकै पश्चिमी निम्न चापीय प्रणालीको थोरै प्रभाव हो ।’ तराईमा भने अहिले वर्षाको सम्भावना छैन । यस्तै काठमाडौंमा उपत्यकामा पनि आज वर्षाको सम्भावना छैन । ‘तर आंशिक बदली (कहिले घाम कहिले बादल) भने हुने देखिन्छ,’ उनले भनिन् । मंगलबार बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोचाहिँ देशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । मौसमविद् मानन्धरका अनुसार अहिले तराईमा खासै हुस्सु कुहिरो पनि लागेको छैन ।

हिउँद यामको अवधि छोटिँदै जाँदा मुलुकभर बिस्तारै चिसो घट्दै गएको र तापक्रम बढ्दै गएको उनले बताइन् । औपचारिक रूपमा यो फेब्रुअरीभर हिउँद अर्थात् जाडो यामको अवधि मानिन्छ । यसपछि प्रि–मनसुन शुरु हुने मानन्धर बताउँछिन् ।

 
 
  
 

You may also like