काठमाडौं ।पृथ्वीमा प्राणीको जीवन–चक्र सन्तानप्रतिको ममतामा अडेको छ । हरेक प्राणीको भविष्य भनेको उसको सन्तती हो । सबैलाई आफ्नो सन्तानमाथि निकै माया, आशा र भरोसा लाग्ने गर्छ । आफ्नो सन्तानलाई प्रेम, ममता र स्नेहले सिंचेर राख्छ । प्राणभन्दा प्यारा लाग्छन् आफ्नो सन्तान । मानव अरु प्राणीभन्दा चेतनशील भएकाले यसमा देखिने सन्ततीप्रतिको ममता अन्य प्राणीमाभन्दा केही विशिष्ट हुन्छ पनि ।
हामी आफैँ पनि महसुश गर्न सक्छौं । हाम्रा आमबुवाले हामीलाई कति माया गर्नुहुन्छ । हामी पनि आफ्नो सन्तानलाई कतिधेरै माया गर्छौं । सन्तान र आमाबुवाबीच अगाध प्रेम हुन्छ
आमाबुवालाई आफ्नो हरेक सन्तान उत्तिकै प्यारो लाग्छ । हो, यही कुरा सुन्दै र भोग्दै र अनुभव गर्दै आएका पनि छौं ।
तर पनि सन्तानहरुमा मायाको विषयलाई लिएर किन विवाद या मनमुटाव हुन्छ ? के सन्तती सबैलाई बराबर माया हुँदैन त ? सोध्दा सबैले भन्ने गर्दछन्, सबैको माया बराबर हो । तर उति नै बेला हातको औंला देखाएर भन्ने गर्छन्– यी उही हातका औंला पनि बराबर त कहाँ पो छन् र ? यसको अर्थ हो, माया घटीबढी हुन्छ ।
वास्तविकता हो जस्तो पनि लाग्छ । भन्ने पनि गर्दछन्– जेठो छोरा, कान्छो नानी, माइलो–साइलो अनमानी । कान्छो प्यारो, जेठो सहयोगी अरु सन्तान वरपर कमाइ गर्नका लागि जाने गर्दछन् । त्यसैले पनि माहिला–साहिंला पर भएको भान पो पर्न गएको हो कि ?
तर बाबुआमाका लागि हरेक सन्तान उस्तै हुन् । सबै उत्तिकै प्रिय लाग्छन् । आमाबुवाको माया हरेक छोराछोरीमा बराबरी हुन्छ । अध्ययन र अनुभव भिन्दाभिन्दै हुन सक्छ ।
अमेरिकामा भएको एउटा सर्वेक्षणले सन्तानलाई बराबर माया गरिन्छ भन्ने मान्यतालाई गलत बताएको छ । सर्भेक्षणका अनुसार आमाबाबुले सबै बच्चालाई उत्तिकै माया गर्दैनन् । अमेरिकाको ब्रिगम यंग युनिभर्सिटीको स्कुल अफ फेमिली लाइफले गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । आफ्नो सबैभन्दा कान्छो सन्तानमा आमाबाबुको सबैभन्दा बढि माया बसेको हुने सर्भेक्षणको ठहर छ ।
यद्यपि, कान्छो सन्तानलाई बढि माया गर्नुको यो अर्थ होइन कि अरु सन्तानलाई माया नै गर्दैनन् । यथार्थमा उनीहरुका लागि आफ्नो जेठो सन्तान भरपर्दो र सहयोगी हुन्छ । आखिर उनीहरुको जिन्दगीमा पहिलो खुशी ल्याउने उही नै हो ।
तर, जब पहिलो सन्तानको भाई वा बहिनी जन्मिन्छन्, आमाबाबाुको माया बाँडिन्छ । जति छोराछोरी जन्मियो, उति माया बाँडिदैं जान्छ । स्वभाविक हो कि आमाबाबुको ध्यान कान्छो सन्तानको हेरचाह र आवश्यकतामा केन्द्रीत हुन पुग्छ ।
यस्तोमा ठूला बच्चाहरुले आफ्ना आमाबाबुबाट कम माया पाएको महसुस गर्छन् । यही भावनाले दाजुभाई र दिदी बहिनीबीच वैमनस्यता उत्पन्न भएको देखिन्छ ।