शीतलहरको सकसमा मधेस, न्यानो कपडा नहुनेहरुलाई कठिन

by समतल अनलाइन

लहान । प्रदेश–२ मा पर्ने मधेसका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित भएको छ ।

शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ । शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारीसाधन चलाउन कठिन भएको छ ।

शीतलहरले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको हो । शीतलहरसँगै हुस्सुले नजिकै पनि देख्न नसकिने भएपछि गाडी चलाउन कठिन भएको सवारीचालक बताउँछन् । लहानको तापक्रम मंगलबार बिहान १० डिग्री सेन्टिगे्रड थियो ।

शीतलहरका कारण लहानलगायत तराईका बजारमा मानिसको चहलपहल कम हुन थालेको छ । विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ भने न्यानो कपडा बिक्री बाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ ।

सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेको देखिन्छ । तराईमा पुस पहिलो सातादेखि सुरु हुने शीतलहर माघ अन्तिमसम्म रहन्छ । यस अवधिमा मधेसी समाजको जनजीवन कष्टकर हुन्छ ।

तराईमा चिसोले खासगरी विपन्न परिवारका मानिस न्यानो लुगा अभावमा प्रताडित हुन्छन् । यस वर्ष पनि शीतलहरबाट मुसहर, चमार, डोमलगायत विपन्न वर्ग बढी पिरोलिएको देखिन्छ ।

बिहानै खुल्ने पसल र बजार पनि ढिलो खुल्न थालेका छन् । मौसम परिवर्तनसँगै चल्न थालेको शीतलहरले व्यवसायमा समेत असर पारेको व्यापारी बताउँछन् । चिसो बढेपछि ज्याकेट र न्यानो कपडाबाहेक अन्य सामानको व्यापारमा कमी आएको उनलीहरूले बताए ।

चिसोले रुघाखोकी, डायरिया, दाम, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको छ । बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानका प्रमुख डा. सुनिलकुमार सिंहले बताए । जाडो बढ्दै गएपछि हाडजोर्नी, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामी बढेको जानकारी उनले दिए । नागरिक दैनिकबाट

 

 
 
  
 

You may also like