३१७ वर्ष पुरानो पाँचतले मन्दिरको जीर्णोद्धार सुरु

by समतल अनलाइन

भक्तपुर। भक्तपुर दरबार स्क्वायरको टौमढीस्थित पाँचतले मन्दिरको जीर्णोद्धार सुरु भएको छ । नेपालकै गौरव मानिने विश्व प्रसिद्ध यो मन्दिर ३ सय १७ वर्ष पुरानो मानिन्छ ।

मन्दिर जीर्ण बनेपछि नगरपालिकाले ०५६ सालमा मर्मत गरेको थियो । ०७२ को भूकम्पले मन्दिरको पाँचौँ तलामा क्षति पुर्‍याएपछि नगरपालिकाले पुनः मन्दिर जीर्णोद्धार सुरु गरेको हो ।

मन्दिर संरक्षणका लागि नगरपालिकाले स्थानीय केशव तमखूको अध्यक्षतामा उपभोक्ता समिति बनाएको छ । समितिले मन्दिर संरक्षण तथा जीर्णोद्धारको काम थालिसकेको वडाध्यक्ष रामगोपाल कर्माचार्यले जानकारी दिए ।

भूकम्पले धेरै सम्पदा र भौतिक संरचना क्षतविक्षत पारे पनि पाँचतले मन्दिरमा भने ठूलो क्षति पुगेको थिएन । १९९० सालको भूकम्पले पनि मन्दिरको गजुर रहेको पाँचौँ तलामै क्षति पुर्‍याएको थियो । यसअघि राजा महेन्द्रले ०१९ मा पनि मन्दिर जिर्णोद्धार गर्न लगाएका थिए ।

नगरपालिकाले भूकम्पले क्षति पुर्‍याएको चार वर्षपछि मन्दिरको संरक्षण कार्य अघि बढाएको हो । मन्दिरका लागि नगरपालिकाले ६५ लाख १३ हजार तीन सय ५८ रुपैयाँको लगत इस्टिमेट तयार पारेको छ । वडाध्यक्ष कर्माचार्यका अनुसार उपभोक्ता समितिले आगामी असारसम्ममा मन्दिरको गजुर पुनर्निर्माण गर्ने र जीर्ण बनेका अन्य संरचनासमेत नयाँ स्वरूपमा तयार गरिसक्नेछ ।

मन्दिरमा गुठी संस्थानले नियुक्त गरेका पुजारीले दैनिक पूजाआजा गर्छन् । वडाध्यक्ष कर्माचार्यका अनुसार विशेष पूजाआजा बाहेक मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न दिइन्नँ । मन्दिर परिसरबाट बर्षेनी बिस्केट जात्राको रथयात्रा सुरु हुन्छ । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like