बुटवल आसपासमा चल्ने सवारीसाधनहरुले बसको क्याबिन र बोनोटमा महिला राख्न नपाईने

by समतल अनलाइन

बुटवल। अब देखि बुटवल र यस आसपासमा चल्ने सवारीसाधनहरुले बसको बोनोट तथा क्याबिनमा महिला सवारी राख्न नपाउने भएका छन ।

सवारी साधन दुर्घटनाका कारणहरु मध्य धेरै घटनाहरुमा बोनोटमा महिला राखेको अवस्थामा दुर्घटना भएको गुनासो आएपछि पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि अन्तर्गतका बसहरुमा बोनोट र क्याबिनमा महिला सवारी नराख्न प्रा.लिले निर्देशन दिएको छ ।

दिनहुं जसो सवारी दुर्घटनाबाट नागरिकहरुको ज्यान जान थालेपछि बुटवलमा सवारी साधनका चालकहरुलाई प्रशिक्षण शिविरमा राखिएको छ । ठूला साना सवारी दुर्घटनामा परेका १ सय ७५ बढी बस चालकलाई दुर्घटना न्युनिकरणका बिषयमा प्रशिक्षणमा राखिएको हो ।

पश्चिम नेपाल यातायात ब्यवसायी प्रा।लिले गरेको प्रशिक्षण शिबिरमा सहभागिहरुबाट दुर्घटनाका धेरै कारणहरु मध्य बोनोटमा महिला राख्नु, सवारी चलाउंदा मोबाईल प्रयोग गर्नु, मापसे सेवन गर्नु, सवारी चेकजांच नगरि चलाउनु, ओभरलोड, सडकको दुराअवस्था तथा सरकारी निकायको नियमीत अनुगमन नभएको सहभागिहरुले गुनासो गरेका छन ।

सहभागिहरुको गुनासो सुने लगत्तै प्रा.लिका अध्यक्ष दधिराम खरेलले पश्चिम नेपालका कुनै पनि बसहरुमा क्याबिनमा महिला नराख्न र सवारी चलाएको अवस्थामा मोबाईल प्रयोग नगर्न चालकहरुलाई निर्देशन दिए । उनले चालकको काम कोचाकोच सवारी राखेर साहुलाई धनी बनाउने नभै सुरक्षित गन्तब्यमा पुर्याउनु भएको बताए ।

यातायात ब्यवस्था कार्यालय लुम्बिनीका प्रमुख मुक्ति पाण्डेले राज्यले पर्याप्त जनशक्ति नदिएका कारण नियमीत अनुगमनमा बाधा पुगेको बताए । राज्यले यातायात ब्यवस्था कार्यालयमा कार्यालय चलाउन समेत नपुग्ने जनशक्ति दिएको पाण्डेको गुनासो छ ।

कार्यक्रममा प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी उपरिक्षक राम प्रसाद शाह, एबिसी न्युजका प्रदेश ५ ब्यूरो प्रमुख शरण कर्माचार्य, प्रा.लिका संचालक जिवन बन्जाडे लगायतले प्रशिक्षण अन्तरक्रियात्मक र परिणाममुखी हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी निरिक्षक ज्ञानु पाण्डेले प्रशिक्षण दिएका थिए ।

नेपालमा २ हजार ८ सय नागरिकको दुर्घटनाबाट मृत्यु हुने गरेको छ भने हरेक दिन ८ जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

 
 
  
 

You may also like