अपाङ्गतामैत्री बन्दै बगनासकाली

by समतल अनलाइन

भोजराज भट्टराई
पाल्पा । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको प्रसङ्ग सेलाउन नपाउँदै र महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला पाल्पाको बगनासकाली गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले मंसिर १९ गतेदेखि परिचय पत्र वितरण शिविर शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले मंसिर १९ गते वडा नं. ७ को देउरालीमा परिचय पत्र वितरण शुभारम्भ गर्दै अपाङ्गता भएकाहरूलाई परिपत्र पत्र वितरणपछि आवश्यकता अनुसार आत्मनिर्भर बनाउने कार्यक्रम गर्ने तर्फ गाउँपालिकाले लक्ष्य लिएको बताए । उनले गाउँपालिका क्षेत्रभित्र रहेका अपाङ्गहरूको बौद्धिकलगायतका क्षमता विकास गराउनमा गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको र यसअघि पालिकाका वार्डहरूमा ह्विलचियर, स्टिक वितरण गरेको बताए । ‘हामीले गाउँपालिकालाई अपाङ्गतामैत्री बनाउन आवश्यक सहयोगसहित प्रयत्न गर्ने छौं’ उनले भने । अध्यक्ष बस्यालले यसका लागि के कस्ता क्रियाकलाप गर्न सकिन्छ प्रस्ताव योजना गाउँपालिकामा ल्याउन पनि सरोकारवालाईहरूलाई आग्रह गरेको औंल्याए ।

यस्तैगरी मंसिर २३ गते गाउँपालिकाको वडा नं. १ मा भएको परिचय पत्र वितरणमा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले अपाङ्ग अर्थात फरक क्षमता भएकाहरूलाई सहयोग र सम्मान गर्ने राज्यको नीतिबमोजिम नै बगनासकाली गाउँपालिकाले आफ्नो योजनामा समेट्दै जाने बताइन । ‘अपाङ्गता भित्रपनि ग, घ वर्गका अपाङ्गहरूलाई सीपमूलक कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले गतवर्षमा जस्तै यस वर्षपनि बजेट विनियोजन गरेको छ ।’ उपाध्यक्ष चिदीले बताइन । उनका अनुसार गत वर्ष गाउँपालिकाले वडा–वडामा सिलाई कटाई तालिम, मेशिन वितरण गरी सहयोग गरेको थियो ।

गाउँपालिकाले मंसिर १९ गते वडा नं. ७ मा १६ र र ८ मा २४ जना गरी ४० जनालाई परिचय पत्र वितरण गरेको हो । ‘कतिपय पूर्ण अपाङ्गता भएकाहरूलाई हामीले घरमै पुगेर पनि सेवा दियौं’ प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । उनले परिचय पत्र वितरणपछि फरक क्षमता भएकाहरूको क्षमता विकास गर्ने खालका क्रियाकलाप गर्दा उनीहरूलाई दीर्घकालीन सहयोग पुग्ने बताए । ‘हिजोका दिनमा महिला विकास कार्यालयबाट वितरण भएका परिचय पत्र पनि छन् र केही यहाँबाट पनि वितरण शुरु भएको छ । यसलाई व्यवस्थित ढङ्गले लगौं र बगनासकाली गाउँपालिकाभित्र कतिजना अपाङ्गता भएका व्यक्तिहरू छन् भन्ने विवरणका लागि हामीले परिचय पत्र वितरण अभियान शुरु गरेका हौं ।’ श्रेष्ठले भने, ‘गाउँपालिकाबाट पनि आवश्यक छलफलसहित बजेट विनियोजन गरी अपाङ्गता भएका व्यक्तिहरूको लागि क्षमता विकास र आय आर्जनमा सहयोग पुग्ने कार्यक्रम आगामी दिनमा शुरु गर्नेछौं ।’ उनले अपाङ्गता भएका व्यक्तिलाई विकासको मूलधारमा समावेश गराउन अपाङ्गता भएका व्यक्तिसम्बन्धी स्पष्ट नीतिगत नियम र कानुन तर्जुमा भएमा गाउँपालिकालाई अपाङ्गमैत्री बनाउन सहज हुने औंल्याए ।

बगनासकाली गाउँपालिकाले मंसिर २२ गते आइतबार वडा नं. ९ चापपानीमा रातो, निलो, पहेंलो र सेतो गरी ३० जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको जनाएको छ । यस्तैगरी मंसिर २३ गते सोमबार गाउँपालिकास्थित वडा नं. १ को चिर्तुङ्गधाराका ३६ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको कम्प्युटर अपरेटर हेमराज घिमिरेले जानकारी दिए । उनका अनुसार सोमबार ५ जनलाई रातो, १६ जनालाई नीलो, ७ जनालाई पहेंलो र ८ जनालाई सेतो गरी ३६ जनालाई परिचय पत्र वितरण गरिएको हो ।

बगनासकाली गाउँपालिकाले पौष ४ गतेसम्म अपाङ्गता परिचय पत्र शिविर सञ्चालन गर्ने जनाएको छ । ‘गाउँपालिकाका सवै वडाहरूमा परिचय पत्र वितरण गर्ने गरी कार्यक्रम तय गरिएको छ ।’ गाउँपालिकाकी सहायक महिला विकास अधिकृत धना रानाले बताइन । उनका अनुसार मंसिर २६ गते वडा नं. २ मा, २७ गते वडा नं. ३ मा, २९ गते वडा नं. ४ मा, पौष २ गते वडा नं. ५ र पौष ६ गते वडा नं. ६ मा परिचय पत्र शिविर सञ्चालन हुनेछ । मंसिर २३ गते सोमबारसम्म गाउँपालिकाले ४ वडाका जम्मा १०६ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ ।

पाल्पा सिविआरका कार्यक्रम संयोजक कृष्ण गहतराजले गाउँपालिकाले अपाङ्गता भएका भएका व्यक्तिहरूको क्षमता अभिवृद्धिका योजनाहरू सञ्चालनमा ल्याए पनि उनीहरूको आवश्यकता पहिचान गर्ने गरी स्थानीयतहरूमा काम हुन नसकेको बताउँछन् । ‘प्राविधिक रूपमै अपाङ्गता भएकाहरूको पहिचान गरी उनीहरूको क्षमता अनुसारको उनीहरूलाई समग्र पाटोमा समाहित गराउन स्थानीय तहहरू लाग्नुपर्दछ भन्नेमा हामीले वकालत गरिरहेका छौं ।’ उनले भने, ‘स्थानीय तहमा कतै शिक्षामा हुन्छ स्वास्थ्यमा हुँदैन, स्वास्थ्यमा हुँदा शिक्षामा हुँदैन यसले गर्दा स्थानीय अपाङ्गमैत्री गाउँपालिका बनाउन आधार प्रभावकारी बन्न सक्दैन ।’ उनले अपाङ्गता परिचय पत्र वितरण कार्यविधि अनुसार पाल्पाका स्थानीय तहमा अपाङ्गता भएकाहरूको स्तर पहिचान गरी परिचय पत्र वितरण गर्न पाल्पा सिविआरले प्राविधिक रूपमा सहजीकरण गर्दै आएको बताउँछन् ।

सिविआरले शिक्षा, स्वास्थ्य, जीवनयापन, रोजगार, सामाजिक सशक्तीकरणका विषयहरूलाई राखेर देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बगनासकाली गाउँपालिका बालमैत्री स्थानीय शासनका कार्यक्रमका फोकल पर्सन मनोज आचार्यले स्थानीय तहका संरचनाहरू बालमैत्री र अपाङ्गमैत्री बन्नुपर्नेमा जोड दिन्छन् । ‘गाउँपालिकाले अव शुरु हुने पूर्वाधार विकासलाई बालमैत्री, अपाङ्गमैत्री बनाउन आवश्यक छ ।’ उनले भने, ‘अपाङ्गता भएका बालबालिकाहरूको संरक्षणका लागि स्थानीय तहहरू लाग्नुपर्दछ ।’ उनले बालमैत्री स्थानीय शासनको मूल लक्ष्य पनि अपाङ्ग बालबच्चाहरू नजन्मिउन, बालबालिकाहरू सस्वथ रहून भन्ने रहेकोले सोही अनुसार कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

 
 
  
 

You may also like