स्वास्थ्यमन्त्रीको आँखा बल्ल वीर अस्प्तलाको प्रयोगहीन सय बेडको भवनमा

by समतल अनलाइन

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वीर अस्पतालको अलपत्र सय बेडको भवन सञ्चालनमा ल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन् ।

जापानले बनाई दिएको सय बेडको भवन वीरले प्रयोग नगरेको समाचा छापिएपछि मन्त्री ढकालले न्याम्सका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर निर्देशन दिएका हुन् ।

न्याम्स र मन्त्रालयका पदाधिकारीलाई मन्त्री ढकालले वीरको भवन सञ्चालन नहुनुको कारण सोधेका थिए । न्याम्सका पदाधिकारीले आर्थिकलगायत समस्यका कारण मेसिन किन्न नसकेको बताएका थिए । छलफलपछि मन्त्रीले आवश्यक सहयोग मन्त्रालयले गर्ने वचन दिँदै भवन सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

‘वीरको भवन अलपत्र परेको समाचार हेरेपछि तत्काल मन्त्रालय र न्याम्सका पदाधिकारी बोलाएर छलफल गरेँ । सञ्चालन किन ढिला भयो भनेर जिज्ञासा राखेँ, उहाँहरूको कुरा सुनेँ,’ मन्त्री ढकालले भने, ‘अस्पताल चल्नुपर्छ, जनताले सेवा पाउनुपर्छ । मन्त्रालयबाट गर्नुपर्ने सहयोग गर्छौँ भनेको छु ।’

न्याम्सका एक पदाधिकारीले पनि मन्त्रीले भवन सञ्चालनमा सहयोग गर्ने वचन दिएको बताए । ‘उहाँले भवन चलाउनु, मन्त्रालयले सहयोग गर्छ भन्नु भएको छ,’ ती पदाधिकारीले भने । मन्त्रीले न्याम्सका उपकुलपति प्रा.डा. डिएन शाह, वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी, मन्त्रालयका सचिव खगराज बराल, गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहलगायतसँग छलफल गरेका हुन् ।

देशकै जेठो अस्पताल वीरका लागि जापानी सहयोग नियोग (जाइका) ले ८८ करोड लागतमा ३० बेडको आइसियूसहितको तीनतले भवन बनाएर हस्तान्तरण गरेको पाँच महिना भइसकेको छ । मुटु, मिर्गौला र ग्यास्ट्रोको सेवा उपलब्ध गराउने गरी भवन बनाइएको छ ।

अपांगमैत्री र शौचालयको विशेष सुविधा भएका कक्षहरू छन् । तर, बनेको भवन अलपत्र हुँदा वीर अस्पताल आउने कम्तीमा १० बिरामी हरेक दिन निजी अस्पतालको आइसियूमा रेफर हुने गरेका छन् । भवन सञ्चालनमा नआएपछि जाइकाले ताकेता गर्दै आएको छ । सरकारबाट सहमति गरेर आए आवश्यक मेसिनसमेत खरिद गरिदिने भन्दै दबाब दिइरहेको न्याम्सका पदाधिकारीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता मेहन्द्रप्रसाद श्रेष्ठले पनि जाइकाबाट दबाब आइरहेको बताए । जाइकाले भवन बनाई दिने र नेपाल सरकारले उपकरण किन्ने गरी सम्झौता भएको थियो । तर, सरकारले उपकरण व्यवस्थान गर्दा भवन अलपत्र परेको हो । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like