धनुषामा मेयर र उपमेयरको समूहबीच झडप

२१ साउन, जनकपुर । धनुषाको हंसपुर नगरपालिका प्रमुख र उपप्रमुखबीचको विवाद झडपमा परिणत भएको छ ।

नगरप्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीच बढेको विवाद कुटाकुटमा परिणत भएको हो । मण्डल र झाको समूहबीच मंगलबार झडप भएको छ।

नगरपालिकाको कार्यालय राख्ने स्थानलाई लिएर चलिरहेको विवादले हिंसात्मक रूप लिएको हो । बघचौडामा रहेको नगरपालिकाको साबिक कार्यालयबाट फाइल तथा सामान लिन पुगेका नगर प्रमुख मण्डल पक्षधर र उपप्रमुख रेणु झा पक्षधरबीच विवाद बढ्दै जाँदा झडप भएको हो । झडप रोक्न प्रहरीले लाठी चलाउनुपरेको छ ।

प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढी सर्वसाधारण घाइते भएका छन् । मंगलबार प्रहरीको सहयोगमा नगरपालिका प्रमुख मण्डल पक्षका केही व्यक्तिले उपप्रमुख झाले सञ्चालन गर्दै आएको कार्यालयबाट जबर्जस्ती कार्यालयका सामान लान खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीको लाठी चार्जबाट उपप्रमुख झा, वडा २ का अध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्रीलगायतका घाइते भएका छन् । घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ ।

उपप्रमुख झाले प्रमुख मण्डलसँग कार्यालय विवादको समाधानका लागि पटक–पटक वार्तामा बोलाए पनि उनले नमानेको आरोप लगाइन् । स्थानीयका अनुसार प्रमुख पक्षधर केही व्यक्तिले ग्रिल तोडेर सामान लैजाने प्रयास गरेका थिए ।

तर, प्रमुख मण्डलले उपप्रमुख झालाई कार्यालय सार्न पटक-पटक आग्रह गरे पनि उनले अटेर गरेको दाबी गरे । दुई ठाउँमा कार्यालय भएपछि काम गर्न समस्या भएकोले समान ल्याउन प्रयास मात्रै गरेको उनले बताए ।

झडप भएको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार अवस्था अझै सामान्य भइनसकेकाले उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

नगर प्रमुख मण्डल र उपप्रमुख झाबीचको विवाद साम्य नभएपछि दुवै जना छुट्टाछुट्टै ठाउँमा कार्यालय राखेर काम गर्दै आएका छन् । मण्डल र झाबीचको विवादपछि एउटै नगरपालिकामा दुई कार्यालय सञ्चालन भएको छ ।

नगर प्रमुख मण्डलले नगरपालिकाको हंसपुरको बेल्ही चोकमा कार्यालय सञ्चालन गरेका छन् भने उपप्रमुख झा बघचौडास्थित साविकको कार्यालयमा बसेर कार्यसम्पादन गर्दै आएकी छन् ।

उपप्रमुख झा बघचौडा टोलवासी हुन् । कार्यालय बेल्ही चोकमा लगिए पनि बोर्डमा भने बघचौडा नै लेखिएको छ । प्रमुख र उपप्रमुखबीचको विवाद लामो समयसम्म साम्य नुहुँदा सेवाग्राही मारमा परेका छन्।

 
 
  
 

You may also like