उपत्यकामा प्रदुषण बढ्यो, अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन सरकारको अनुरोध

by समतल अनलाइन

काठमाडौं । काठमाडौँ उपत्यकामा मौसममा आएको एका एक परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायू प्रदूषण बढेको हो ।
प्रदुषणको तह बढेसँगै वातावरण विभागले बालबालिका, रोगी, ज्येष्ठ नागरिक तथा विशेष गरी स्वासप्रस्वास सम्बन्धी रोग भएका व्यक्तिलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा वायु प्रदुषण अत्याधिक रुपमा बढेको भन्दै विभागले यस्तो अनुरोध गरेको हो । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार विज्ञप्ति जारी गर्दै उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेकाले त्यो समयमा घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

विभागले नेपालगञ्ज, विराटनगरलगायत ठूला शहरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले तराई क्षेत्रका सर्वसाधारणलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकामा एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकित्सकहरुले अनावश्यक रुपमा घर बाहिर ननिस्किन सुझाव दिएका छन् ।

चिकित्सकहरुले बाहिर निस्किनु परेपनि अनिवार्यरुपमा मास्क लगाउन सुझाव दिएका छन् । सोमबार बिहानैदेखि काठमाडौंको आकाश तुवाँलोले ढाकेको अहिले पनि उस्तै रहेको छ ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार साँझसम्म खतराको सूचीभन्दा माथि रहेको छ । अहिले सबैभन्दा बढी वायू प्रदूषण भएका विश्वका ५० शहरमध्ये काठमाडौँ पहिलो नम्बरमा रहेको छ ।
रासस

 
 
  
 

You may also like