नेपालमा पुनः सक्रिय हुँदै मनसुन

काठमाडौँ, २० साउन । मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केही उत्तर तर्फ अर्थात नेपाल नजिक सरेकाले मनसुनी गतिविधि केही सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेसँगै केही दिनदेखि कमजोर अवस्थामा रहेको मनसुन पुनः सक्रिय हुने क्रममा रहेको मौसमविदले बताएका छन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसमविदले बताएका छन् । यस्तै चट्याङ्ग पनि परिरहेको छ ।

सोमबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्व र पश्चिमका तराई क्षेत्रका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा तथा चट्याङ्ग पर्ने सम्भावना रहेको छ । राति मध्य र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 

 
 
  
 

You may also like