आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, २० साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व हिन्दू धर्मावलम्बीले आज विशेष श्रद्धापूर्वक मनाउँदै छन् । आज देशैभर हिन्दू परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा गरिन्छ ।

बराह पुराणमा उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात् आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ । हिमाली काखको नेपाली सभ्यतामा प्रकृतिका हर उपजको सम्मान छ । यहाँ चरा पुजिन्छन् । वृक्ष पुजिन्छन् । पर्वतको सम्मान छ । नदीको आदर छ । यति मात्र होइन विषधर सर्पप्रजातिलाई यहाँ नागदेवता मानेर पूजा गरिन्छ । नागको सम्मानमा पर्व नै मनाइन्छ ।

नागपञ्चमी पर्वमा घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।

श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम्वाद भएको पौराणिक प्रसंगका आधारमा यस तिथिलाई नागपञ्चमी पर्व मानिएको हो ।
वराहपुराणका अनुसार नागराजले आफ्ना समस्याबारे ब्रह्मासँग संवादगरेपछि विषधर नागहरु शान्तभएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । नागपञ्चमीका दिन घरघरमा नागको तस्वीर बनाई द्वारमाथि टाँसेर पूजा गरिन्छ ।

नागका अष्टकुल अनन्त वासुकि पद्म,महापदम,तक्षक,कुलीर,कर्कोटक शंख नागको चित्र ढोकामाथि टाँसेर दुईतिर कपासको पिउरी सजाई नाग पूजा गरिन्छ । घरमा नाग पूजा गर्दा दूधदही,अक्षता,दुबो,लावा फलफूल चढाई दूध वा खीरको नैवेद्य लगाउने चलन छ ।

यसरी नागको पूजा गर्नाले घरमा चट्याङ वज्रपात नपर्ने,अग्निभय र सर्पदंसको डर नहुने र शरीरमा रोगव्याधि नलाग्ने धार्मिक मान्यता छ ।

ब्रह्मवैवर्त पुराणका अनुसार भगवान श्रीकृष्णको पदचिह्न कालयि नागले शिरमा धारण गर्ने भएकाले नागलाई मार्न हुँदैन भन्ने विश्वास छ ।

नागपूजा गरेपछि नागपञ्चमीका दिन खेतबारीमा खनजोत गर्नु हुँदैन भन्ने गरिन्छ । खनजोत गरेमा जमिनमुनि बसेका नाग काटिनसक्ने र त्यसो भएमा पाप लाग्ने बताइन्छ । नागको नेपाली समाजमा नागपञ्चमीदेखि हिउँदे प्रभाव देखिने र श्रीपञ्चमीदेखि वर्षे याम शुरु हुने लोककथन प्रचलित छ ।

नाग पञ्चमीका दिन जलमूल तथा ठूला जलाशयमा पनि नागको पूजा गर्ने परम्परा छ । जलमूल, इनार कुवा, पोखरी धारामा नागको निवास मानेर नागपूजा गर्ने परम्परा छ ।

यस्ता जलाशयमा कपास वा पीठाको नाग बनाई त्यसमा तीलको कत्ला, मासको आँखा र दुवाको जिब्रो बनाउने चलन छ । स्पर्शक्षमतामा तेज मानिने सरिसृप प्राणी नागका दुईवटा जिब्रा हुन्छन् ।

नागपञ्चमीका दिन काठमाडौको केन्द्रस्थलमा पर्ने नक्साल नागपोखरीमा नागको विशेष पूजाआजा गरिन्छ । पोखरीको बीचमा रहेको नागको अग्लो प्रतिमामा नयाँ वस्त्र पहिराई शिरबाट दूधले नुहाइदिएर विधिपूर्वक नागको पूजा गर्ने परम्परा छ । यहाँ नागपञ्चमीका दिन नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।

काठमाडौकै कीर्तिपुर नगरपालिकामा पर्ने चोभार तल रहेको टौदहमा पनि नाग पञ्चमीमा नागपूजा गर्नेको भीड लाग्छ । दहको दक्षिणतिर रहेको धारामा स्नान गरी नजिकै रहेको नाग प्रतिमामा नाग पूजा गरिन्छ ।

 
 
  
 

You may also like