काठमाडौं । दुई महिनाभित्र अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ ।
कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सङ्कटग्रस्त बैंक फर्स्ट रिपब्लिकनलाई स्वामित्व ग्रहण गरेको छ । जेपी मोर्गन चेस एन्ड कम्पनीले फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको अधिग्रहण गरेको हो ।
जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ । यसअघि गएको मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको घोषणा गरिएको थियो । फर्स्ट रिपब्लिक बैँक अमेरिकाको चौधौँ ठूलो बैंक हो । यो बैँक टाट पल्टिएको घोषणापछि विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ ।
आठ राज्य, ८४ शाखा
अमेरिकाका आठ राज्यमा फस्ट रिपब्लिक बैंकका ८४ वटा कार्यालय जेपी मोर्गन चेस बैंकको शाखाका रूपमा पुनः खुल्ने छन् । यसपछि फस्ट रिपब्लिक बैंकका ग्राहक स्वतः जेपी मोर्गनका डिपोजिटर बन्ने छन् । अर्थात्, फस्ट रिपब्लिक बैंकका ग्राहकको पैसा सुरक्षित हुनेछ ।
रिपब्लिकका ग्राहकको क्षति व्यहोर्न अमेरिकी नियामक निकायको इस्योरेन्स फन्डले १३ अर्ब डलर भुक्तानी गर्नुपर्ने हुन्छ । जेपी मोर्गन र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिंगल फेमिली र व्यापारिक ऋणको घाटा सँगसँगै रिकभरीलाई पनि साझा गर्नेछन् । जेपी मोर्गनले फस्ट रिपब्लिकको सम्पूर्ण सम्पत्ति अधिग्रहण गर्ने बताइएको छ ।
रिपब्लिकसँग कति सम्पत्ति ?
१३ अप्रिलसम्म फस्ट रिपब्लिक बैंकको कुल सम्पत्ति २३० अर्ब डलरभन्दा बढी थियो । यस्तै, जम्मा भएको रकम १०४ अर्ब डलर थियो । जेपी मोर्गनबाहेक रिपब्लिक बैंक अधिग्रहण गर्न बोलकबोल गर्ने सिटिजन फाइनान्सियल ग्रुप, पिएनसी फाइनान्सियल सर्भिसेज ग्रुप, युएस बैंककर्प र बैंक अफ अमेरिका सहभागी थिए ।
सेयरमा ओरालो यात्रा
सन् १९८५ मा स्थापित फस्ट रिपब्लिक बैंक अमेरिकाको १४औं ठूलो बैंक थियो । गत मार्चमा उक्त बैंकको सेयर ९७ प्रतिशतसम्म गिरावट आयो । मार्चमा प्रतिकित्ता एक सय २२ डलर रहेको सेयर अहिले ३.५१ डलरमा झरेको छ ।
किन डुब्यो ?
अमेरिकाकै सिलिकन भ्याली र सिग्नेचर बैंकझैं फस्ट रिपब्लिक बैंक डुब्नुको कारण तरलता व्यवस्थापन रहेको बुझिएको छ । फेडेरल रिजर्भले महँगीसँग जुझ्न ब्याजदरमा तीव्र बढोत्तरी गरेको छ । यसको प्रत्यक्ष प्रभाव अमेरिकाका बैंकिङ क्षेत्रमा परेको देखिन्छ । बैंकका अधिकांश ग्राहकले बिमा नगरिएको रकम निकालेका थिए । अमेरिकामा अढाई लाखसम्मको रकम एफडिआइसीमार्फत बिमा हुने प्रावधान छ ।
गत हप्ता रिपब्लिक बैंकले सूचना जारी गर्दै सन् २०२३ को पहिलो त्रैमासमा ग्राहकले १०२ अर्ब डलर निकालेको बताएको थियो । सन् ०२२ को अन्त्यतिर बैंकको डिपोजिट १७६ अर्ब डलर बराबर थियो । अर्थात्, ग्राहकले डिपोजिटको आधाभन्दा बढी रकम निकालेका थिए । यही क्रममा बैंकले ९२ अर्ब डलर ऋण समेत लियो । तर, यति हुँदाहुँदै पनि सरकारले अधिग्रहण गर्ने बाहेक कुनै उपाय देखिएन । फस्ट रिपब्लिकका अधिकांश ग्राहक स्टार्टअप इन्डस्ट्रीका छन् ।
त्यसो त रिपब्लिक बैंक पछिल्ला केही वर्षमा कैयौँपटक खरिद–बिक्री भएको छ । सन् २००७ मा मेरिल लिन्च एन्ड कम्पनीले १.८ अर्ब डलरमा अधिग्रहण ग¥यो र अधिग्रहणको एक वर्षपछि बैंकको स्वामित्व बैंक अफ अमेरिकामा आयो । यस्तै, सन् २०१० मा १८६ अर्ब डलरमा जनरल एटलान्टिक र कोलोनी क्यापिटलसहित अन्य इन्भेस्टमेन्ट फर्मले यसलाई खरिद गरी पब्लिक गरे ।
आर्थिक मन्दीको चिन्ता
रिपब्लिक बैंकको पतनले आर्थिक मन्दीको चिन्ता थप बढाउने देखिएको छ । अर्थशास्त्री एवं विश्लेषकले सिलिकन भ्याली बैंकको असफलताबाट सुरु भएको उथलपुथलले बैंक र लगानीकर्तालाई सचेत गराएको बताएका छन् । यो सतर्कताले ऋण लिन कठिन र महँगो बन्न सक्ने उनीहरूको बुझाइ छ । यसो भएको खण्डमा व्यापार विस्तारको गति सुस्त हुनुका साथै हायरिङ पनि कम हुनेछ ।
नेपालसम्मै तरंग, तर प्रभाव पर्दैन
अमेरिकामा बैंक टाट पल्टिए पनि त्यसको प्रभाव नेपालका बैंकमा नपर्ने बैंकर भुवन दाहाल बताउँछन् । ‘अमेरिकाका ठूला बैंक डुब्नुको कारण ब्याजदर जोखिम व्यवस्थापन नहुनु हो,’ दाहाल भन्छन्, ‘फेडेरलले अचाक्ली ब्याजदर बढाएपछि यो स्थिति आएको हो । सिलिकन भ्याली बैंकले त गभर्मेन्ट ट्रेजरीमै लगानी गरेको थियो ।’
दाहालका अनुसार नेपालमा अमेरिकाको जस्तो उच्च ब्याजदर छैन, जसले गर्दा जोखिम कम देखिन्छ । ‘नेपालले अमेरिकाको बैंक बन्ड किनेको भए डुब्न सक्ने अवस्था हुन्थ्यो,’ दाहाल थप्छन्, ‘तर, त्यो अवस्था छैन । नेपालको रेमिट्यान्स छ, ब्याजदर कम छ । यी कारणले पनि बैंक नै टाट पल्टिने सम्भावना कम देख्छु ।’