भारतीय चिकित्सकहरु किन उत्रिए देशव्यापी हडतालमा ?

by समतल अनलाइन

नयाँदिल्ली । सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरुले शनिबार राष्ट्रव्यापी विरोध र हडताल गरेका छन् । पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो ।

स्वास्थ्यकर्मीहरुले हड्तालको नेतृत्व गरेका छन् भने दोषीलाई कारबाहीको माग गर्दै दशौं हजार सर्वसाधारण पनि हडतालमा सहभागी भएका छन् । प्रदर्शनकारीहरु ‘निको हुने हातबाट रगत बग्न हुँदैन’, ‘इनफ इज इनफ’, ‘बलात्कारीलाई फाँसी दे’ आदि लेखिएको प्लेकार्डसहित विरोधमा उत्रिएका छन् ।

मृतक चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा फेला परेको थियो । शव परीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमा–बाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का व्यक्त गरेका छन् ।

कोलकाताको प्रहरीले उक्त मुद्दालाई गलत तरिकाले लिएको आरोप लगाई उच्च अदालतले ‘जनताको विश्वास जगाउन’ अनुसन्धानलाई भारतको शीर्ष केन्द्रीय अनुसन्धान ब्यूरोलाई हस्तान्तरण गरेको छ । धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चितकालका लागि’ बन्द गरेका छन् ।

सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन् । हड्तालमा संलग्न चिकित्सकहरुले स्वास्थ्य सेवाकर्मीलाई हिंसाबाट जोगाउन केन्द्रीय सुरक्षा ऐन लागु गर्न माग गरिरहेका छन् । हडतालले नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत बाधा पुर्‍याएको छ ।

 
 
  
 

You may also like