काठमाडौंसहित देशका धेरै भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावका कारण आज (मंगलबार) पनि देशका धेरै भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ ।

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘हिजो–अस्तीको तुलनामा आज केही कम वर्षा हुने देखिएको छ । तर, वर्षा भने हुन्छ’, मौसमविद् सञ्जिव अधिकारीले भने, ‘आज वागमती प्रदेशको काठमाडौं उपात्यकामा पनि वर्षाको सम्भावना छ । बिहानको समयमा काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कम देखिन्छ । तर, मध्याह्नदेखि भने वर्षा हुनेछ ।’

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 
 
  
 

You may also like