नेपालमा ‘बुलबुल’ चक्रवातको असर पर्ला कि नपर्ला ?

by समतल अनलाइन

बंगलादेशबाट पाँच लाख र भारतबाट ६० हजार मानिसलाई सुरक्षित स्थान सारियो

काठमाडौं । बंगलादेशमा ‘बुलबुल’ चक्रावातबाट जोगिन पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको समाचार बाहिर आइरहेका बेला चक्रबातको असर नेपालमा भने नपर्ने मौसमविद्हरुले बताएका छन् ।

हाल बंगलादेश र भारतको पश्चिम बंगाल नजिक पुगेको सो चक्रवातको प्रभावले गए राति नेपालको पूर्वी उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको अवस्था उत्पन्न भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशको पूर्वी भूभागलगायत मध्य पहाडी भू–भागमा आंशिक बदलि रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

शाखाका अनुसार राति पनि देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै रहने जनाइएको छ । पूर्वी क्षेत्रमा सामान्य बदली रहे पनि त्यसको थप असर नपर्ने बताए । उनको भनाइ थियो, ‘‘यो चक्रवात बंगलादेशकै भू–भागतिर जाने भएकोले यसले असर गर्दैन ।’ नेपालतिर अलि धुम्म जस्तो देखिनुको कारण स्थानीय प्रदूषणले गर्दा भएको उनको भनाइ थियो ।

बंगालको खाडी आसपासमा बुलबुलको असर देखिएपछि प्रभावित क्षेत्रका पाँच लाख मानिसलाई अन्यत्र सारिएको छ । सो चक्रवातले गए राति उक्त क्षेत्रमा भारी वर्षासमेत गराएको थियो । सो चक्रवातबाट दुई जनाको मृत्यु भइसकेको जनाइएको छ ।

सो क्षेत्रका विमानस्थल समेत बन्द गरिएको छ । व्यस्त मानिने भारतको कोलकाता विमानस्थल पनि बन्द गरिएको जनाइएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सर्वसाधारणलाई शान्त रहन आग्रह गर्दै ट्वीट गरेकी छन् । होशियार र सुरक्षित रहन उनले आग्रह गरेकी छन् । सो चक्रवात उत्तरतर्फ विस्तारै जाने र कमजोर हुने मौसमविद्हरुले जनाएका छन् । भारतबाट पनि प्रभावित क्षेत्रका ६० हजार मानिसलाई अन्यत्र सारिएको गरेको छ ।

 
 
  
 

You may also like