प्रधामन्त्रीको डिस्चार्ज अनिश्चत, स्वास्थ्य अवस्थाबारे फरक फरक विवरण

by समतल अनलाइन

काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको डायलाइसिस गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको हो । तर, अहिले पनि उहाँको निजि सचिवालय र अस्पतालले स्वास्थ्य अवस्थाबारेमा फरक फरक भनाई राखेका छन ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख भएपनि डायलासिस गरिएका कारण आज पनि उहाँको डिस्चार्ज नहुने भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा अस्पताल र उहाँको निजि सचिवालय समेत नबोलिरहेको अवस्थामा नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले यो नियमित परिक्षण भएकाले परिक्षण सकिएपछि मात्रै डिस्चार्ज गरिने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री धरै अस्वस्थ भएर आईसीयूमा राखिएको नभई भीडभाड र सङ्क्रमणबाट बचाउनका लागि सघन उपचार कक्षमा राखिएको बताउनुभयो । अर्यालले आफु चीकित्सक नभएकाले प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा नबोलेको भन्दै नियमित परिक्षण सकिएपछि मात्रै ओलीको डिस्चार्ज हुने बताउनुभयो ।

प्रधानमन्त्रीको शरीरमा पानीको मात्रामा कमी देखिएकाले औषधिको साइड इफेक्ट हुन सक्ने भन्दै प्रधानमन्त्रीलाई ग्राण्डीमै राखिएको हो । ओलीले भाइटीकाको दिनदेखि नै असजिलो महसुस गरिरहनुभएको र टीकाको दिन धपेडी बढेकाले शरीरको तापक्रम पनि बढेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गर्दै आउनुभएको छ । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्मा फेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओली यहीवर्षमात्रै दुईपटक सिङ्गापुर गइसक्नु भएको छ । सिङ्गापुरबाट फर्किएपछि पनि ओली नियमित स्वास्थ्य परीक्षणमै रहनुभएको छ ।

 

 
 
  
 

You may also like