युक्रेन संकटका विषयमा अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुको वार्ता केन्द्रित रहेको दुवै पक्षका अधिकारीले जनाएका छन् ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीले रुस-यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थिए । अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको रुपमा लिनुपर्नेमा दुवै नेताले जोड दिएका थिए । चिनियाँ राष्ट्रपति सीले अन्तर्राष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको उल्लेख गरेका थिए ।

वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले भने युक्रेन-रुस द्वन्द्वमा रुसलाई सहयोग नगर्न चेतावनी दिएका थिए । त्यस्तै उनीहरुको बीचमा अन्य धेरै विषयमा पनि छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिका-चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले बताएका छन् । गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि पहिलो पटक दुई मुलुकका राष्ट्रपतिबीच वार्ता भएको हो ।

 
 
  
 

You may also like