युक्रेनमा सैन्य आक्रमण रुसी आंकलन भन्दा बाहिर

किभ । युक्रेनमा रुसी हमला चौथो सातामा प्रवेश गरेको छ । विश्वमा सैन्य शक्तिका हिसाबले अग्रस्थानमा रहेको भनिएको रुसले युक्रेनलाई छोटो अवधिमा कब्जा गर्ने अनुमान गरिएको थियो ।

तर युद्धमा रुसी सैनिकले रणनीतिक र प्राविधिक दुवै हिसाबले सफलता हासिल गर्न सकेका छैनन् । चौथो सातासम्म पनि रुसले युक्रेन हमलालाई निर्णायक विन्दुमा पुर्‍याउन सकेको छैन । युक्रेन हमलामा रुसी सैनिकको प्रदर्शन कमजोर देखिएको छ ।

भियतनाममा फ्रान्स र अमेरिकी युद्धको इतिहासका लागि पुलित्जर पुरस्कार विजेता तथा अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक फ्रेडरिक लोजभाल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका जनतासँग राजनीतिक र नैतिक युद्ध हारिसकेको बताउँछन् । उनी सैनिक बलमा रुसले युक्रेनसँगको सम्बन्ध बलियो बनाउन नसक्ने बताउँछन् ।

एले विश्वविद्यालयमा इतिहासका प्राध्यापक तथा हार्वड विश्वविद्यालयका पूर्वफ्याकल्टी मेम्बर आर्ने वेस्ट्याड पनि शक्तिशाली रुसी सेनाले युक्रेनमाथि कब्जा गर्न सक्ने वा आफूले चाहेअनुसार गर्न सक्ने तर त्यसको मूल्य भयानक हुने बताउँछन् । युक्रेन हमलामा रुसी सैनिकको मृत्युको मूल्य र आर्थिक भार रुसका लागि भारी पर्ने उनले बताए ।

यो भार सामना गर्न रुस सक्षम नहुने उनको विश्लेषण छ । पश्चिमा मुलुकहरूले लगाएको प्रतिबन्धले रुसको अर्थतन्त्र र त्यहाँको मुद्रा कमजोर भइसकेको छ । यो युक्रेन हमलाको नतिजा हो । युक्रेन हमलाको मूल्य रुसले यसरी नै चुकाइरहेको उनको तर्क छ ।

प्राध्यापक वेस्ट्याड विश्व संकटका बेला चीनको प्रभाव पहिलो पटक अमेरिकाको भन्दा पनि बढी हुनसक्ने बताउँछन् । उनी रुस धेरै छिटो चीनमाथि निर्भर बनेको बताउँछन् । यसको नतिजा रुस अझै बढी चीनको प्रभुत्वमा पर्ने र चीन रुसका प्राकृतिक स्रोतहरू ऊर्जा, तेल र ग्यासको थप दोहन गर्न सफल हुने उनको तर्क छ ।

रुसले युक्रेनमाथि हमला गरिरहँदा दुई मुलुकबीच शान्ति वार्ता पनि भइरहेका छन् । सुरुवाती चरणका वार्तामा युक्रेनलाई धम्की दिने वा आत्मसमर्पणका लागि चेतावनी दिने रुस पछिल्ला वार्तामा रचनात्मक ढंगले प्रस्तुत हुने गरेको युक्रेनी अधिकारीले बताएका छन् । चौथो वार्ताका क्रममा मस्को रचनात्मक ढंगले प्रस्तुत भएको युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले बताएका थिए । यसको अर्थ रुस युक्रेनमा हमलाको निरन्तरता चाहँदैन भन्ने संकेत भएको अन्तर्राष्ट्रिय मामिलाका जानकार बताउँछन् । युक्रेनमाथिको हमलामा रुसले पाँचजना उच्च सैन्य अधिकारीसहित सात हजारभन्दा बढी सैनिक गुमाएको छ ।

ठूलो संख्यामा रुसका लडाकु विमान, हेलिकोप्टर, ट्यांक र अन्य सैन्य उपकरण ध्वस्त भएको समाचार सार्वजनिक भइरहेका छन् । युक्रेनको रक्षा मन्त्रालयले भने समाचारमा आएभन्दा दोब्बर क्षति रुसतर्फ भएको दाबी गरेको छ । युक्रेनमा सोचेभन्दा बढी क्षति र युद्ध लम्बिँदै जाँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो साख जोगाउँदै युद्धको समाधानको बाटो खोजिरहेका छन् । त्यसका लागि उनी युक्रेन भविष्यमा कहिले पनि नेटोको सदस्य नबन्ने प्रतिबद्धता खोजिरहेका छन् । जुन हालै युक्रेनी राष्ट्रपतिले पनि घोषणा गरिसकेका छन्। जसले गर्दा वार्ता सकारात्मक हुने संकेत देखिएका पनि छन् ।

तर वार्ताका बीचमा पनि रुसी आक्रमण जारी छ भने युक्रेनलाई पनि अमेरिकासहित पश्चिमा मुलुकले शक्तिशाली हतियार र आर्थिक सहयोगको घोषणा गरिरहेका छन् । जसले गर्दा युद्ध कति लामो समयसम्म चल्छ भनेर अनुमान गर्न सकिँदैन। त्यसैले पश्चिमा मुलुकमा यो युद्ध लामो समयसम्म लम्बिएर युक्रेन युरोपको अफगानिस्तान बन्ने त होइन भन्ने आशंका पनि उब्जिरहेको छ ।

 
 
  
 

You may also like