अमेरिकालाई आफ्नो हैसियतमा राख्न सक्ने क्षमता हामीसँग छ : रुस

मस्को । रुसले अमेरिकालाई आफ्नो हैसियतमा राख्न सक्ने क्षमता रहेको भन्दै चेतावनी दिएको छ । विश्वको शक्ति राष्ट्रको रुपमा रहेको अमेरिकाले घृणा फैलाउँदै रुसलाई टुक्र्याउन खोजेको रुसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का सहायक सेक्रेटरी दिमत्री मेडभेडेभले बताएका हुन् ।

अमेरिकाले रुसलाई घुँडा टेकाउन रुसविरुद्ध नकरात्मकता फैलाउने काम गरिरहेको मेडभेडेभको भनाइ छ । ‘यसले काम गर्नेवाला छैन, रुससँग हाम्रा सबै शत्रुलाई उनीहरुकै स्थानमा ल्याउन सक्ने क्षमता छ’, उनले भने । रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण शुरु गरेसँगै अमेरिका र उसका युरोपेली तथा एसियाली सहयोगी मुलुकले निरन्तर रुसमाथि प्रतिबन्धको घोषणा गरिरहेका छन् । यससँगै रुस विश्वको अधिकांश अर्थतन्त्रबाट बाहिरिएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने यो सैन्य आक्रमण नभई विशेष सैन्य कारबाही भएको उल्लेख गरेका छन् । अमेरिकाले युक्रेनलाई प्रयोग गरेर रुसको सुरक्षा चासोलाई चुनौती दिन थालेकाले यो कदम उठाउनु जरुरी रहेको उनले बताउँदै आएका छन् ।

उनले युक्रेनमा रहेका रुसी भाषा बोल्नेमाथि पनि सरकारले नरसंहार गरेको आरोप लगाउँदै आएका छन् । युक्रेनले भने पुटिनको दाबीमा कुनै सत्यता नरहेको बताउँदै आएको छ ।

 
 
  
 

You may also like