लाज शरम बाँकी भए एमाले सांसदहरुले राजीनामा दिऊन् : बाबुराम भट्टराई

by समतल अनलाइन

काठमाडौं। सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसदलाई २–२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता भए एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर नबसी राजीनामा गरेर जनताबीचमा जानुपर्ने प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष भट्टराईले सर्वोच्च अदालतको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्‍याए । ‘जसले संसदलाई २–२ चोटी विघटन गर्छ । ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने ?’, उनले सोधे, ‘सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम। जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो ।’

आफूले पार्टी छोडिसकेपछि दोस्रो संविधानसभाबाट २०७२ सालमा तुरुन्तै राजीनामा गरेको उनले स्मरण गराए । ‘उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ’, उनले भने । भट्टराईले एमालले आफैले विघटन गरेको संसदमा अवरोध गरेर निर्लज्जताको पराकाष्ठ देखाएको बताउँदै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताएका छन् ।

 

 
 
  
 

You may also like