सहिदहरुको सम्मान हुन सकेन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको बताउनुभएको छ ।

सभापति देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको आज अनावरण गर्दै उहाँले सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उहाँहरूको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरूको कर्तव्य भएको उल्लेख गर्नुभयो । उहाँले यादवनाथ आलोकको सपना पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

सहिद यादवनाथ आलोक स्मृति अध्ययन केन्द्रका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा सहिद पत्नी सीतालक्ष्मी न्यौपानेले आलोकले अगाडि सार्नुभएका चाहना र आङ्काक्षा पूरा गर्न नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो ।

यसअघि, सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिद्वारा भैरहवामा आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको थियो ।

विसं २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा बहुदलविरुद्धको समूहले गरेको साङ्घातिक आक्रमणमा परी आलोक सहिद हुनुभएको थियो । सोही घटनामा रुपन्देहीकै रामप्रसाद चौधरीसमेत सहिद हुनुभएको थियो । दुवै जना कांग्रेसका कार्यकर्ता हुनुहुन्थ्यो ।

 
 
  
 

You may also like