वेष्ट इण्डिज ‘ए’ सँग लगातार तेस्रो हार, एक खेलअघि नै नेपालले गुमायो श्रृंखला

काठमाडौं । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच पाँच खेलको टी–२० सिरिज वेष्ट इण्डिज ‘ए’ ले जितेको छ । एक खेल बाँकी छँदै वेष्ट इण्डिज ‘ए’ ले श्रृंखला (सिरिज) जितेको हो । वेष्ट इण्डिज ‘ए’ चारमध्ये तीन खेलमा विजयी भएको छ । नेपालले पहिलो खेलमा जित हात पारे पनि त्यसपछिका लगातार तीन खेलमा पराजित भयो ।

आज (बिहीबार) त्रिवि क्रिकेट मैदानमा भएको चौथो खेलमा वेष्ट इण्डिज ‘ए’ ले नेपालविरुद्ध २८ रनको जित हात पारेको हो । वेष्ट इण्डिज ‘ए’ ले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपाल ९ विकेट गुमाउँदै १८१ रनमा रोकियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ८२ रनको शानदार पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन । टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कुशल भुर्तेलले २ र प्रतिश जिसीले १ विकेट लिए । सिरिजको अन्तिम खेल शनिबार हुनेछ ।

 
 
  
 

You may also like