कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन, जनताले बुझेका छन् : रवि लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेस पनि दूधले नुहाएको पार्टी नभएको बताएका छन् । उनले एउटा ठाडो उजुरीको आधारमा संसद अवरुद्ध गर्नु राम्रो संसदीय अभ्यास नभएको बताए ।

‘कांग्रेसले माग गरेको कुरामा मेरो सम्मान छ । हामी त्यसको जवाफ काम गरेर देखाउन चाहन्छौं,’ संसद भवनमा सञ्चारकर्मीसँग उनले भने, ‘जुनरूपमा उहाँहरूले संसद अवरुद्ध गर्नुभएको छ । एउटा पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजिएको छ भने कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन नेपाली जनताले बुझेका छन् ।’ उनले अनुसन्धानलाई प्रभावित गर्नेगरी कांग्रेसले कुर्सीका मान्छे हटाएको आरोपसमेत लगाए । ‘अनि कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनका कुरा गर्ने ?,’ लामिछानेले प्रश्न गरे ।

गृहमन्त्री लामिछानेले लामो राजनीतिक इतिहास भएका कांग्रेस नेताहरूलाई आफ्नो मागमा अडिग रहन आग्रहसमेत गरे । ‘लामो राजनीतिक इतिहास बोकेका साथीहरूले ठाडो उजुरीलाई लिएर संसद अवरुद्ध गर्ने, राजीनामा माग्ने हो भने आफ्नो मागमा अडिग रहन आग्रह गर्छु । हामी कामले जवाफ दिने हो,’ उनले भने ।

लामिछानले कांग्रेसलाई चार वर्ष नै संसद अवरुद्ध गर्न सुझाव दिँदै सो अवधिमा आफूहरूको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए । उनले संसदमा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाइ सम्मान गर्ने भन्दै छानविन आयोगको विषय संसदको अधिकारको कुरा भएको बताए ।

 
 
  
 

You may also like