उपनिर्वाचनमा टिकट पाएका सुहाङ भन्छन्–सिङ्गो इलामको प्रतिनिधित्व गरेर आउँछु

काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले आफूलाई उम्मेदवार बनाउने निर्णयले आफू उत्साहित भएको सुहाङ नेम्वाङले प्रतिक्रिया दिएका छन् । सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

आज (आइतबार) को एमाले केन्द्रीय सचिवालय बैठकले सुहाङलाई वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीबाट टिकट पाएपछि सुहाङले भने, ‘मलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाउने निर्णय गर्‍यो यसमा उत्साहित छु । उत्साहितसँगै जिम्मेवारी पनि थपिएको महसुस गरेको छ ।’

उनले आफू इलाम २ बाट उम्मेदवार बन्दै गर्दा नेकपा एमालेको तर्फबाट मात्रै नभएर सिङ्गो इलामका जनताकै भावना समेट्ने गरेर अगाडि बढ्ने बताए । ‘म सिङ्गो इलामका जनताको भावना समेट्ने गरी अघि बढ्ने प्रयास गर्छु’, उनले थपे, ‘सबै जना मैदानमा उत्रँदा जित्छु भनेरै उत्रने हो । म पनि जनताको विकास र समृद्धिका एजेण्डा बोकेर जनता माझ जान्छु ।’

हाल काठमाडौँमा रहेका सुहाङ एक–दुई दिनमा चुनावी क्षेत्रमा खटिने बताउँछन् । २०७९ को निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएका सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । ३५ वर्षीय सुहाङ अधिवक्ता समेत हुन् । उनी एमालेको केन्द्रीय कानुन विभागका सदस्य हुन् । एमालेले फागुन ३ गते उनलाई कानुन विभागमा मनोनीत गरेको थियो । इलाम जिल्ला कमिटीले सुहाङसहित ६ जनाको नाम सिफारिस गरेको थियो । त्यसबाट सचिवालयले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 
 
  
 

You may also like