लुम्बिनीका सात मन्त्रीले लिए शपथ, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद् विस्तारपछि लुम्बिनीमा मन्त्रालयको संख्या ११ पुगेको छ । बिहीबार नियुक्त सबै विनाविभागीय मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराए । यसअघि विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका तीन जना मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

जस अनुसार नेकपा (एमाले) का चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, नेकपा (माओवादी केन्द्र) का दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जनता समाजवादी (जसपा)का भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीले अरू सात जना मन्त्रीको भने मन्त्रालय तोकेका छैनन् । सात जना मन्त्रीले बिहीबार विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् । मुख्यमन्त्री महराले एमालेका चारसहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एसका एक–एक तथा स्वतन्त्र सांसद एक जनालाई विन ाविभागीय मन्त्री नियुक्त गरेका हुन् । नियुक्त हुने विना विभागीय मन्त्रीमा एमालेबाट गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, रुपन्देहीका भूमिश्वर ढकाल र बाँकेका रत्नबहादुर खत्री, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, नेकपा एसबाट भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेत छन् ।

उनीहरूले बिहीबार नै विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनेका थिए ।

त्यो समयमा गठबन्धन दलबीच जसपाका दुई, एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई मन्त्री बनाउने लिखित सहमति भएको थियो । लुम्बिनी प्रदेश सरकारमा एमालेले पाँच, माओवादीले मुख्यमन्त्रीसहित थप दुई, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक–एक मन्त्रालय बाँडफाँडमा सहमति भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

 
 
  
 

You may also like