अफगानिस्तानमा विमान चढ्न जाँदै गर्दा दोभाषेको गोली हानी हत्या

by समतल अनलाइन

काठमाडौं। अफगानिस्तानमा अस्ट्रेलियन सेनाका लागि दोभाषे काम गर्ने एक अफगान नागरिकको गोली हानी हत्या गरिएको छ ।
अस्ट्रेलियन सञ्चारमाध्यमका अनुसार अफगानिस्तानबाट बाहिरिन राजधानी काबुलस्थित विमानस्थलमा जाने क्रममा उनको हत्या गरिएको हो । अफगानिस्तानबाट बाहिरी मुलुक जान मंगलबार राति विमान चढ्न गइरहेका बेला विमानस्थल बाहिर उनलाई गोली हानिएको समाचारमा जनाइएको छ ।

‘एसबीएस’ र ‘द गार्डियन अस्ट्रेलिया’ मा प्रकाशित तस्बिरमा एक डाक्टर खुट्टामा गोली लागेका व्यक्तिको उपचार गरिरहेको देखिन्छ । यो काबुल विमानस्थलमा जारी भागदौड र हिंसाअन्तर्गतको एक घटना हो ।

अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेपछि अहिले त्यहाँबाट दैनिक ठूलो संख्यामा अफगानी तथा त्यहाँ रहेका बाहिरी मुलुकका मानिस धमाधम अफगानिस्तान छाडिरहेका छन् ।
तालिबानले बन्द गरायो अफगानिस्तान–भारत सीमापार व्यापार
अफगानिस्तान तालिबानले कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको छ । यसै क्रममा तालिबानले आफूसँग सीमापार व्यापार बन्द गरेको भारतले जनाएको छ । सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे ।

फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ) का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो । योसँगै लाखौं डलरका सामान आयात–निर्यात रोकिएका छन् । व्यापारका लागि अफगानिस्तान भारतको ठूलो सहयोगी मुलुक थियो । भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौं डलर लगानी गरेको छ । एजेन्सी

 
 
  
 

You may also like