अहिलेसम्म कतिले लगाए कोरोना खोप ? अब कति चाहिन्छ ?

कोरोनाको उपचार र नियन्त्रणलाई चुस्त बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग हिजो भएको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमै देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका काम कारवाहीका बारेमा जानकारी समेत लिएका छन् । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको मंगलबार साँझ बसेको पहिलो बैठकले खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई चैत मसान्तभित्र कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो । देउवा सरकारले कोरोना नियन्त्रण र खोपको उपलब्धतालाई प्राथमिकता दिएको जनाएको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्ने निर्णय समेत गरेको थियो । साथै कोरोना नियन्त्रणमा अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्रै जोखिम भत्ता वितरण शुरु गर्ने निर्णय पनि सरकारले गरेको थियो ।

अझै दुई करोड ५० लाख जनसंख्यालाई कोरोनाविरुद्धको खोप आवश्यक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई करोड ५० लाख जनसंख्यालाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना सङ्क्रमणको अहिलेको अवस्था, रोकथामका लागि भइरहेको प्रयास र खोपको विषयमा ब्रिफिङ गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीले दुई करोड ५० लाख जनसंख्यालाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा १८ वर्षमाथिका दुई करोड १५ लाख जना र १२ देखि १८ वर्ष उमेर समूहका ३५ लाख गरी साढे दुई करोड नागरिकलाई खोपको आवश्यकता पर्ने जानकारी प्रधानमन्त्रीलाई दिएको बताएका छन् ।

नेपालमा अहिलेसम्म १८ लाख २८ हजार जनाले कोभिशिल्डको पहिलो मात्रा र चार लाख ६० हजार सात सय ३४ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । यस्तै भेरोसेलको पहिलो मात्रा सात लाख ९२ हजार नौ सय जनाले र दोस्रो मात्रा ६ लाख ४८ हजार जनाले लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुवै डोज खोप लगाउनेको संख्या ११ लाख ९ हजार छ ।

यसैबीच नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका लागि पनि कोरोनाविरुद्धको खोप ल्याउने विषयमा स्वास्थ्य मन्त्रालयले छलफल थालेको छ । यो उमेर समूहलाई अमेरिकी फाइजर खोप प्रभावकारी हुने भएकाले कोभ्याक्स सुविधा अन्तर्गत खोप सहयोगको लागि पहल भइरहेको र उच्चस्तरबाट पनि आग्रह गर्न सकिने सुझाव स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।

यस्तै फाइजर खोप ल्याएमा नेपालमा भण्डारण र वितरणमा के–कस्तो प्रबन्ध छ भनेर प्रधानमन्त्री देउवाले जिज्ञासा राखेका थिए । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्नेमा त्यो सुविधा नेपालमा नभएको स्वास्थ्यका अधिकारीले बताएका छन् । तर खोप आउने सुनिश्चित भएमा युनिसेफ र अन्य अन्तर्राष्ट्रिय सङ्घ–संस्थाले भण्डारणका लागि सहयोगको वचन दिएका मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like