म्याग्दीमा ८५ घर भत्किए, १४४ घर उच्च जोखिममा

म्याग्दी। यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् ।

पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु नौ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई रु १५ हजार र पाँच जनाभन्दा बढी संख्यामा सदस्य भएका परिवारलाई रु २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताए ।

पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन् । अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगङ्गाको बेग, बेनीको सिंगा तातोपानी, मङ्गलाको अर्मन, मालिकाको रुम र धौलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । गत वर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ । गत वर्ष पहिरोले म्याग्दीमा २४७ घर भत्किएकामध्ये म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले ४० वटा घर बनाएको छ ।

सरकारले पहिरोले भत्किएका हिमाली जिल्लाका घर बनाउन प्रतिघर रु पाँच लाखका दरले अनुदान दिने निर्णय गरेको थियो । निर्णयानुसार आवश्यक बजेट व्यवस्थापन नगर्दा सबै पहिरो पीडितले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको पनि अनुदान पाएका छैनन् ।
वैशाख अन्तिम साता रु एक करोड आठ लाख ९७ हजार ५०० पठाएको गृह मन्त्रालयले असारमा थप रु ३६ लाख ३२ हजार ५०० पठाएको थियो । मोनाले बनाएका बाहेकका घरका लागि रु १० करोड बजेट माग गरिएको थियो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा घर बनाउने कार्यविधि भए पनि सङ्घ र प्रदेशले बजेट नपठाएकाले पुनर्निर्माण प्रभावित भएको स्थानीय तहका पदाधिकारीले बताएका छन् । धौलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम, देवीस्थान, रघुगङ्गाको भगवती र अन्नपूर्णको फगाममा पहिरोले क्षति गरेको थियो । रासस

 
 
  
 

You may also like