झरना रनिङसिल्डमा जुएफसी जुगेडी बिजयी

by समतल अनलाइन

बुटवल। ३३ औं झरना रनिङ सिल्ड नकआउट फुटबलको सोमबार भएको दोस्रो चरणको अन्तिम खेलमा जुएफसी जुगेडी ३– १ ले विजयी भएको छ ।
खेलको २३ औं मिनेटमा जुएफसीका सन्त गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रसरता दिलाएका थिए । त्यस्तै खेलको ३६ औं मिनेटमा अर्का खेलाडी रन्जन पुनले दोस्रो गोल गरेपछि जुएफसी जितको नजिक पुगेको थियो ।

खेलको दोस्रो हाफमा रन्जनले पुन ः एक गोल गरेपछि जुएफसीको जित निश्चित जस्तै भएको थियो । तर खेलमा हार नमानेको लिस्नुका तर्फबाट खेलको ६१ औं मिनेटमा रमेश बर्तवालले एक गोल फर्काएका थिए ।

तर यो नै लिस्नुको पहिलो र अन्तिम गोल बन्यो । खेल जुएफसीको पोल्टामा पर्यो । तिलोत्तमा नगरपालिका–६ कुञ्जालापुर स्थित उमा आधारभूत विद्यालयको मैदानमा जारी प्रतिष्पर्धामा जुएफसीका रोशन रानामगर म्यान अफ द म्याच घोषित भए ।
यो संगै दोस्रो चरणका सम्पूर्ण खेल सकिएका छन् ।

मंगलबारबाट सुरु हुने सेमिफाइनलको पहिलो खेलमा सिम्रिक युवा क्लब र योङस्टार एफसी मडाहा भिड्ने आयोजक झरना स्पोर्टस क्लबका सचिब मोहनसिंह रानाले जानकारी दिए ।

झरना स्पोर्टस क्लबको आयोजनामा असोज २ गतेदेखि जारी खेलमा १६ टिम सहभागी भएका छन् ।

 
 
  
 

You may also like