यी प्रदेशमा भारी वर्षाको सम्भावना, पहिरो, बाढी र जमिन कटानबाट बच्न आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित ‘यास’ चक्रवातको प्रभाव अझै नेपालमा कायमै रहेको छ । यास पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशका अधिकांश भू–भागमा सामान्य बदलीको अवस्था रहेको मौसमविदले जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशहरुका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश–१ को तराई भू–भागमा र प्रदेश–२ को थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, प्रदेश–२ वागमती प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र प्रदेश–२ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागजले जनाएको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको र लामो समय वर्षा भएकाले हिलेभीरपाखा, पहिरो, बाढी र जमिन कटान हुनसक्ने भन्दै यसबाट बच्न–बचाउन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 
 
  
 

You may also like