फाइजर र एस्ट्राजेनेका खोप भारतीय भेरियेन्टविरुद्ध प्रभावकारी पुष्टि

काठमाडौं । अमेरिकाको फाइजर र अक्स्फोर्ड एस्ट्राजेनेकाको खोप भारतमा उत्पन्न भेरियेन्ट विरुद्ध उच्च रुपमा प्रभावकारी रहेको नयाँ अध्ययनले देखाएको छ । यी खोपहरुको दुई डोज लगाएपछि त्यसले भेरियेन्टविरुद्ध काम गर्न सक्ने पत्ता लागेको हो ।

सो रिसर्च सञ्चालन गर्ने ‘पब्लिक हेल्थ इङ्ल्यान्ड’ का अनुसार ती खोपको प्रयोग गर्नुले संक्रमितलाई गम्भीर बिरामी हुनबाट, अस्पताल हुनबाट र मृत्युबाट जोगाउनेछ । यसबारे खुसी व्यक्त गर्दै बेलायती स्वास्थ्य सचिव म्याट हेनककले कोरोनाका मापदण्डहरु खुकुलो बनाउने सरकारको अन्तिम चरणको निर्णयका लागि अब आफ्नो आत्मविश्वास झनै बढेको बताएका हुन् ।

खोपले नै महामारीबाट सबैलाई बाहिर निकाल्न सक्नेमा समेत उनले जोड दिएका हुन् । र यसमा खोपको दुवै डोज लगाउन महत्वपूर्ण भएको बताए । अमेरिकाको फाइजर खोप, दोस्रो डोजको दुई हप्तापछि भारतीय भेरियेन्टबाट उत्पन्न लक्षणजन्य रोग विरुद्ध ८८ प्रतिशत प्रभावकारी साबित भएको हो । यता बेलायतमा फेला परेको भेरियेन्टबाट चाहिँ यसले ९३ प्रतिशत सुरक्षा दिलाउने यसअघि डाटाले देखाएको थियो ।
त्यस्तै एस्ट्राजेनेका खोप पनि भारतीय भेरियेन्ट विरुद्ध ६० प्रतिशत प्रभावकारी पुष्टि भएको छ । पीएचइका अनुसार एस्ट्राजेनेका खोपलाई अधिकतम प्रभावकारीताको बिन्दुसम्म पुग्न केही लामो समय लाग्ने गर्दछ ।

यसमा अहिलेका लागि समस्या के देखिएको छ भने पहिलो डोजपछि खोपको प्रभावकारीता सोचेजति उच्च प्राप्त भएन । दुवै खोप, पहिलो डोज लगाएको तीन हप्तासम्म भारतीय भेरियेन्ट विरुद्ध ३३ प्रतिशत मात्र प्रभावकारी रहेको पाइएको हो । जुन बेलायतको केन्ट भेरियेन्टको तुलनामा थोरै हुन्छ । यी दुईवटै खोपको पहिलो डोज केन्ट भेरियेन्ट विरुद्ध चाहिँ ५० प्रतिशत प्रभावकारी रहेको डाटाले देखाएको थियो ।

यसरी नयाँ भेरियेन्टले खोपलाई छल्न सक्ने क्षमता थोरै स्तरमा वृद्धि हुनुले पनि यसको संक्रमकता सम्बन्धी ठूलो चिन्ता उत्पन्न गराउँछ । तर भारतीय भेरियेन्टले भाइरसलाई संक्रमण फैलाउनमा केही बढी लाभ दिलाइरहेको भए पनि खोपले यसलाई जित्न पूर्ण सम्भव भएको विज्ञहरुले बताएका छन् । बीबीसी

 

 
 
  
 

You may also like