सरकारमा जाने महन्थ समूहकाे तयारी, मन्त्रीका लागि १५ बढी आकांक्षी

काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा जान सहमत भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले छलफल अगाडि बढाएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा अध्यक्ष उपेन्द्र यादव पक्ष र ठाकुर पक्ष विभाजित भएसँगै जसपाभित्रको पूर्वराजपा समूहले सरकारमा जाने तयारी थालेको हो । सरकारमा जानका लागि आकांक्षीहरु धेरै भए पनि आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने कुरामा भने करीब सहमतिको अवस्था रहेको जसपाका एक नेताको दाबी छ ।

मन्त्री हुने व्यक्तिको टुंगो लाग्ने बितिक्कै शपथ हुने ती नेताले बताएका छन् । ओली सरकारलाई सहयोग गराउँदै आएको ठाकुर पक्ष नागरिकता विधेयक जारी, संविधान संशोधनका लागि कार्यदल बनेपछि सरकारमा जान तयार भएको बताइएको छ । सांसद बिना मन्त्री रहेका पूर्व माओवादीहरुको पद अदालतको आदेशबाट खारेज भएपछि रिक्त रहेको स्थानमा जसपाका नेतालाई सांसद बनाउने भनी प्रधानमन्त्रीले प्रतिबद्धता गरे पनि मन्त्री बन्न १५ जना भन्दा धेरै आकांक्षी देखिएपछि व्यवस्थापन गर्न चुनौतीपूर्ण भएको जसपा नेताहरुको भनाइ छ ।

विघटित प्रतिनिधि सभामा नरहेका नेताले पनि मन्त्रीमा आकांक्षा देखाएका छन् । पहिले आन्तरिक व्यवस्थापनपछि मात्र सरकारमा सहभागिताबारे निर्णय गर्ने एक नेताले बताए । यादव पक्षबाट ठाकुर समूहतर्फ लागेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रुही नाज, कलुदेवी विश्वकर्मा र रेनुका गुरुङले मन्त्रीमा दावी गरेका छन् । उनीहरु मन्त्रीको अफर पाएपछि ठाकुर पक्षमा लागेको स्रोतको भनाइ छ ।

ठाकुर निकट स्रोतका अनुसार विघटित संसदको सदस्य नरहेका उमाकान्त झा, सर्वेन्द्रनाथ शुक्ला, अकवाल अहमत साह, वृषेशचन्द्र लालको पनि मन्त्रीमा दावी छ । राजेन्द्र महतो, चन्दा चौधरी, अनील झा, राजकिशोर यादव, प्रमोद साह चन्द्रकान्त चौधरी, शरतसिंह भण्डारी र अकवाल मियाँको मन्त्रीमा दावी रहँदा अध्यक्ष ठाकुरलाई आन्तरिक विवाद भारी परेको हो ।

कसलाई कुन–कुन मन्त्रालयमा पठाउने भन्ने सहमति बनेपछि सरकारमा सहभागी हुने तयारीमा ठाकुर पक्ष छ । अर्का अध्यक्ष उपेन्द्र यादव समूहले भने ओली सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइसकेको छ । आइतबार बसेको उपेन्द्र पक्षको कार्यकारिणी बैठकले त्यस्तो निर्णय गरेको हो ।

 

 
 
  
 

You may also like