भारतले अक्टोबरसम्म खोप निर्यात नगर्ने, नेपालको खोप अभियान प्रभावित हुने

काठमाडौं। भारतले अक्टोबरसम्म कोभिड–१९ विरुद्धको खोप निर्यात गर्ने सम्भावना नरहेको सरकारी स्रोतहरुलाई उधृत गर्दै रोयटर्सले जनाएको छ ।नेपालले अग्रिम भुक्तानी गरेर सेरम इन्स्टिच्युटबाट किनेको २० लाख डोजमध्ये १० लाख डोज खोप भारतबाट आउन बाँकी नै छ । भारतको पछिल्लो निर्णयले त्यो खोप नेपालले लामो समय नपाउने देखिएको छ । भारतको भर परेर नेपालले अन्य मुलुकबाट खोप किन्न ठोस पहल पनि गरेको छैन ।

यसबाट नेपाल बाहेक बंगलादेश, श्रीलंकालगायत मुलुकको खोप अभियान पनि प्रभावित हुनेछ । त्यस्तै यसले विश्वव्यापी कोभ्याक्स कार्यक्रमलाई धक्का पुर्‍याउने जनाइएको छ । करिब एक महिनाअघि कीर्तिमानी संख्यामा संक्रमण बढ्न थालेपछि भारतले खोप निर्यातमा रोक लगाएको थियो । त्यसअघि भारतले विश्वभर साढे ६ करोड डोज खोप निर्यात गरेको थियो ।

‘हामीले यो सन्देश आधिकारिक रुपमा अन्य मुलुकलाई दिन जरुरी छैन । किनभने त्यो हाम्रालागि बाध्यकारी छैन,’ रोयटर्सले भारतीय स्रोतलाई उधृत गरेको छ, ‘तर, यो कुरा आन्तरिक रुपमा छलफल भएको छ । केही मुलुकहरुलाई हामीले थप खोपको अपेक्षा नगर्न भनिसकेका छौं ।’

तर, कुन–कुन मुलुकलाई त्यस्तो सन्देश दिइएको हो, खुलाइएको छैन । अहिले भारतलाई खोप आपूर्ति गर्न आफूहरुको ध्यान केन्द्रित भएको सेरमका एक प्रवक्ताले जनाए । सेरमले यसअघि जुनसम्ममा खोप निर्यात थाल्ने अपेक्षा गरिएको थियो । कोभ्याक्सले पनि मे महिनासम्ममा सेरमबाट १४ करोड खोप पाउने बताइएको थियो । तर, ती खोप अब भारतमै प्रयोग हुने बताइएको छ । रोयटर्स

 
 
  
 

You may also like