मेडिकल कलेजलाई ३९ करोड अवैध शुल्क फिर्ता गर्न ताकेता :नगरे कानुनी कारबाहीको चेतावनी

by समतल अनलाइन

काठमाडौं। मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । तोकिएभन्दा १३ लाख रुपैयाँ बढी लिएको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन तयारी थालेको हो । चितवन मेडिकल कलेज, किस्ट कलेज, युनिभर्सल मेडिकल कलेज र नेसनल मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिएको पीडित विद्यार्थीको गुनासो छ । मेडिकल कलेजहरूले बढी असुल गरेको ३९ करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको विद्यार्थी संघर्ष समितिले जनाएको छ ।

अवैध ढंगले असुलिएको शुल्क फिर्ता गर्न सरकारले एक महिनाको अल्टिमेटम दिएको छ । तोकिएको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई शुल्क फिर्ता नगरे सरकारले कारबाही गर्ने जनाएको हो ।
गृह मन्त्रालयमा सोमबार बसेको गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका पदाधिकारीको बैठकले ठगी गरिएको रकम फिर्ता नगरे कारबाही गर्ने निर्णय गरेको हो ।
बैंठकमा गृहमन्त्री थापाले मेडिकल शिक्षाको शुल्क २०७२ मा तोकिएभन्दा बढी शुल्क लिएको पाइए फिर्ता गराउन कानुनी कारबाही अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुल्क फिर्ता गर्न कलेजहरूलाई आग्रह गरेका थिए ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

 
 
  
 

You may also like